• Monday, December 19th, 2016
  • मङ्गलबार, १२ बैशाख २०७४

जोखिममा नेपाल, यसकारण जतिबेला पनि विष्फोट हुनसक्छन् हिमताल !

प्रकाशित मिति: December 19, 2016

काठमाण्डौ । आइतबार उपल्लो मुस्ताङको ढाकामार खोलामा एक्कासि बाढी आयो । हिउँदमा एक्कासि बाढी आउँदा सबै अचम्ममा परे । बाढीले आठवटा काठे पुल र चारवटा पानी घट्ट पनि बगायो । मानवीय क्षतिबारे विस्तृत विवरण आएको छैन । सो भीषण बाढी कसरी आयो भन्ने सबैले सहजै अनुमान गरिरहेका छन्कि माथिल्लो भेगमा अवस्थित कुनै पनि हिमतालमा पहिरो खसेर त्यो विनाश निम्तिएको हुनसक्छ । यी आशंकाहरुलाई विगतका दुर्घटनाहरुले समेत पुष्टि गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यलय मुस्ताङले ढाकामारमा बाढी आउनुको कारण कुनै हिमताल फुटेर आएको हुनसक्ने अनुमान गरेको छ ।

नेपालका उत्तरी भेगका जिल्लाहरुमा मुस्ताङमा अहिले आएजस्तै बाढी वर्षा र हिउँदमा पनि एक्कासि आउने गरेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार डोल्पाको सीमानामा रहेको कुनै हिमताल फुटेर त्यो बाढी आएको हुनसक्छ । जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यलयका अनुसार ढाकामार खोलाको सिरानमा दुईवटा ठूला–ठूला हिमतालहरु रहेका छन् । ती हिमतालहरुमा पहिरो गएको हुनसक्ने उसले अनुमान गरेको छ ।

नेपालमा उपल्लो मुस्ताङमा आइतबार घटेको जस्ता घट्ना वर्षेनी घट्ने गरेका छन् । गत वर्ष मात्र सिन्धुपाल्चोकको तातोपानी बाह्रबिसे क्षेत्रमा भोटेकोशी–सुनकोशी क्षेत्रमा एक्कासि आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको थियो । त्यो बाढी पनि हिमताल फुटेर आएको आशंका गरिएको थियो । त्यसैले यो सबालमा नेपालले मात्र होइन, छिमेकी चीनसँग समेत समन्वय गर्न जरुरी रहेको सरोकारवालाहरु बताउँछन् ।

नेपालको सन्दर्भमा यस्ता दुर्घटनाहरु निकै भएका छन् । सोलुखुम्बुमा अवस्थित धेरै वर्ष पहिलेको हिमताल विष्फोटको इतिहास होस् वा केही वर्षअघि अन्नपूर्ण र माछापुच्छ्रे रेन्जबाट फुटेर आएको हिमतालको कास्कीको सेती खोँचको विनास वा गत वर्षामा भोटेकासीमा आएको बाढी र तिब्बतमा हिमताल फुटेको आंकलन होस्, यी घटनाहरु सबै संयोग मात्रै होइनन्, मानवजातिकै लागि चूनौतीका विषयहरु बन्दै गइरहेका उदाहरण हुन् ।

वास्तवमा प्राकृतिक प्रकोपको अनुसन्धानमा संलग्न अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का प्रतिनिधिहरुले नेपालका २० वटा हिमताल कुनैपनि बेला फुटनसक्ने जोखिम रहेको भन्दै प्रकोप व्यवस्थापनको पूर्व तयारी गर्न सुझाव दिइरहेका छन् ।

भूकम्पका कारण भूगोल कमजोर भएको र ती तालहरु उच्च जोखिममा रहेकोले त्यसबाट प्रभावित हुनसक्ने बस्तीहरुलाई सचेत रहन र चुस्त व्यवस्थापन गर्न समेत सो संस्थाले सम्बन्धित पक्षसँग आग्रह गर्दै आएको छ ।

इसिमोडका अनुसार नेपालमा २ हजार ३ सय २३ वटा हिमताल छन् । भूकम्पका कारण ४ हजार २ सय वटा पहिरोका घटना रेकर्ड भएको बताउँदै उसले मानवीय क्षति हुन नदिन भुकम्पले चिरा परेका स्थानमा वस्ती बस्न दिन नहुने र त्यस वरिपरि रहेको हिमतालको अवस्थाका विषयमा सचेत गराउँदै आएको छ ।

तिब्बतका हिमताल ले पनि नेपाल सक्न सक्छन् !
तिब्बतमा रहेका केही हिमतालका कारण नेपालतर्फ क्षति हुनसक्ने भूगोलविदहरुले बताउँदै आएका छन् । नेपालको उत्तरी सीमा तिब्बत स्वशासित क्षेत्र अन्तर्गत पर्ने तीनवटा हिमताल विस्फोटको उच्च जोखिममा रहेको र सो ताल विस्फोट भएमा नेपालमा झण्डै साढे १६ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति हुनसक्ने अनुमान यसअघिनै गरिदै आएको छ ।

भूगोलविदहरुका आइतबार जसरी उपल्लो मुस्ताङमा हिमतालमा पहिरो गएर बाढी आएको आशंका गरिएको छ, त्यस्तै भोटेकोसी–सुनकोसी जलाशयमा पर्ने तिब्बतमा रहेका जी लोङ, यूमो जिन् र क्वी जेला हिमताल पनि फुट्ने खतरा उच्च छ ।

ती हिमताल कुनैपनि बेला फुट्न सक्ने अध्ययनबाट देखिएको जानकारी दिनुहुँदै तीमध्ये जी लोङ को हिमताल विगतमा पनि फुटेको समेत बताइएको छ ।
तीनवटै हिमतालमा विगत २३ वर्षदेखि पानीको सतह अध्यधिक बढिरहेको । यसका साथै थप सातवटा हिमताल पनि जोखिममा पुगेका छन् ।
तिब्बतकै गालोङ्, गाङ् जी, पाजु, चावुक्यू–देङ, ताला, सिरेन् मा र जिङ् गू हिमताल जोखिममा रहेको समेत भूगोलविदहरुले बताउँदै आएका छन् । सातमध्ये सिरेन् मा र जिङ् गू हिमताल विगतमा पनि फुटेका हुन् ।

अध्ययनले जोखिममा रहेको देखाएको हिमतालहरु सबै तिब्बतमा छन् । तर ती पोकू, भोटेकोसी हुँदै सुनकोसी भएर बग्छन् । त्यसैले ती हिमताल फुटेमा त्यस्को प्रत्यक्ष प्रभाव नेपालमै पर्छ ।

यसअघिकै अध्ययनले एकैचोटी ती हिमताल फुटेमा १६ अर्ब ३० करोड रुपैंया बराबरको भौतिक क्षति हुने देखाएको त्यस्मध्ये ६२ प्रतिशत भौतिक संरचना र ३७ प्रतिशत घर भत्किने बताएको थियो ।

अध्ययनमा हिमताल फुट्दा ४ सय ५७ हेक्टर खेतियोग्य जमिन सखाप हुने देखिएको छ । हिमतालले १२ वटा जलविद्युत् आयोजना, ७९ वटा पुल, ७० किलोमिटर सडक र ७७ किलोमिटर विद्युत् प्रशारण लाइन क्षति पुर्याउने आंकलन गरिएको थियो ।

त्यस्तै, आइतबार बाढी आएको मुस्ताङको ढाकामारमाथि ५ हजार ५ सय र ५ हजार ६ सय मिटर उचाइमा दुईवटा हिमताल देखिन्छन्। यी हिमतालमा माथिबाट पहिरो आएको अनुमान छ।

नेपालमा यस्तो छ हिमतालको स्थिति
नेपालमा ठूला हिमताल भनेका ३ वटा हुन् । तीमध्ये दोलखाको च्छो रोल्पा हिमताल, सोलुखुम्बुको इम्जा हिमताल र रुकुमको ठूलागी हिमताल हुन् ।
यी हिमताल केही वर्षअघिको अध्ययनले फुट्ने जोखिममा नरहेको बताएपनि गतवर्ष गएको भूकम्पपछि यी तालको अवस्थाबारे गहिरो अध्ययन भैसकेको छैन । त्यसैले यी हिमतालको विषयमा पनि सचेत हुन जरुरी छ ।

गतवर्ष भूकम्प र त्यसपछिको शक्तिशाली पराकम्पनले नेपालका हिमताल खतरामा परेको भन्ने समाचार बाहिर आएपछि विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले हिमतालको अवलोकन अध्ययनका लागि विज्ञहरुको टोली पठाएको थियो ।

सो अध्ययनले इम्जा हिमतालमा भूकम्पको कुनै प्रभाव नदेखिएको र च्छो रोल्पा हिमतालमा सानासाना चिरा देखिएता पनि ठूलो क्षति नदेखिएकाले हिमतालको तल्लोतटीय क्षेत्रका समुदायमा तत्काल कुनै खतरा नदेखिएको बताउँदै आएको छ ।

च्छो रोल्पा हिमताल समुद्री सतहबाट चार हजार ५८० मिटर उचाइमा छ, यसको अधिकतम् गहिराइ २७० मिटर, लम्बाइ तीन दशमलव ५५ मिटर र आयातन ८५ दशमलव ९४ रहेको छ । इम्जा हिमताल पाँच हजार १० मिटर उचाइ, दुई दशमलव लम्बाइ र अधिकतम् ११६ गरिहरो रहेको छ ।

त्यस्तै ठूलागी हिमताल चार हजार १४६ मिटर उचाइ शून्य दशमलव ६० मिटर र ८१ मिटर गहिराइको छ । इसिमोडद्वारा सन् २००१ मा गरिएको सर्वेक्षणअनुसार नेपाल भरी दुई हजार ३२३ वटा हिमताल रहेको र त्यसमध्येमा २१ वटा हिमताल अत्यन्त जोखिमयुक्त अवस्थामा रहेको बताउँदै आएको छ ।

चीन सरकारसँग पनि समन्वय हुनुपर्छ
तिब्बती क्षेत्रमा रहेको हिमताल र तिनको व्यवस्थापनका विषयमा नेपाल सरकारले चीनसँग गहिरो समन्वय गर्न जरुरी छ । तिब्बत र नेपालको हिमाली क्षेत्र आफैमा कठिन भूगोल भएका स्थान हुन् ।

नेपाल सरकारले मात्र यसको व्यवस्थापन गर्न असम्भव छ । आधुनिक प्रविधिसँग जोडिएका सुचना–सञ्चार गर्न सक्ने यन्त्रहरुदेखि हिमतालमा तटबन्ध गर्ने र स्थानीय समुदायलाई सचेत गराउने कार्यक्रममा समेत तिबतदेखि नेपालसम्म नै अभियान चलाउन जरुरी छ । हिमताल जुनसुकै बेला फुट्नसक्ने भएकोले त्यो जीवनभरको त्रासको विषय बन्न सक्छ ।

त्यसले करोडौ जनसंख्यालाई मनोविज्ञानमा समेत असर पारिदिनसक्छ । त्यतिमात्र होइन, यदि दुर्घटना भैहालेमा तत्काल उदार गर्न सक्ने सवालमा समेत दुवै देश तयारी हालतमा हुनुपर्छ ।

माथि उल्लेखित हिमतालहरु मात्र होइन, तिब्बती क्षेत्रमा अन्य थुप्रै गुमनाम हिमतालहरु हुन सक्छन् । ती जतिबेलामा पनि विष्फोट हुनसक्छन् । यो विषयमा पनि छलफल हुन आवश्यक छ । त्यसर्थ, दुबै देश मिलेर सबै किसिमका कार्यक्रमहरुमा समन्वय गरेर अघि बढ्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।

तपाईंको प्रतिकृयाहरू


Loading...