• Monday, December 5th, 2016
  • शनिबार, १४ फागुन २०७३

राजा महेन्द्रलाई बम प्रहार गर्ने युवा विद्यार्थी संगठन यतिबेला चाकरी र स्वार्थको चौघेरामा पुगेको छ

प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

-तारक प्रतिभा
जहानिया राणा शासनको पञ्जाबाट मुलुकलाई मुक्त गर्दै मुलुक र जनतालाई स्वाधीन र स्वतन्त्र बनाउने राजनैतिक जागरणको मोर्चामा १९९७ देखी नै विभिन्न स्वरुप र भुमिकामा राणा बिरोधि संघर्षका आन्दोलन सञ्चालन गर्दै आएका तत्कालीन तरुण विद्यार्थीहरुकै योगदानको जगमा स्थापित विद्यार्थी आन्दोलनको संगठित रुवरुप हो नेविसंघ ।

वि.सं. २००३ सालमा स्थापना भएको नेपाली छात्र संघ स्थापनापुर्व राणा विरोधि जयतु संस्कृतम आन्दोलनको माध्ययमबाट निंरकुशताको जग हल्लाएको विद्यार्थी आन्दोलन र त्यसभन्दा पछाडिका प्रजातान्त्रिक विद्यार्थी आन्दोलनको जगमा ०२७ साल वैशाख ६ गते स्थापित नेपाल विद्यार्थी संघले आफ्नो चार दशक भन्दा लामो यात्रा पूरा गरिसकेको छ ।

२००३ सालमै नेपाली राष्ट्रिय काग्रेंस गठन भएपछि छात्र संघले पार्टीको भातृ संगठनको रुपमा काम गर्न थाल्यो । छात्र संघको जगबाट सुरु भएको विद्यार्थी आन्दोलनले २०१८ सालमा त्रिभूवन विश्वविद्यालयमा विद्यार्थी यूनियन खोल्ने अनूमति प्राप्त गरेको भएके थियो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनको पहिलो उपलब्धि नै यही थियो । २०१९ सालमा भएको त्रिवि विद्यार्थी यूनियनको दोस्रो चुनावमा प्रजातन्त्रवादी विद्यार्थी नेता दमननाथ ढुंगाना सभापतिमा निर्वा्चित भएको इतिहाँस छ ।

nsus

समयको निरन्तरतासंगै २०२६ सालसम्म आइपुग्दा विपीन कोइराला, लक्ष्मण घिमिरे लगायतको अगुवाईमा गौरीशंकर छात्र समिति, रामचन्द्र पौडेल, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, टिका पोखरेल लगायतको अगुवाइमा गण्डकी छात्र समिति, अर्जूननरसिंह केसीको अगुवाईमा पश्चिम १ नं. छात्र समिति, शेरबहादूर देउवा, सिद्धराज ओझाको अगुवाइमा सूदूरपश्चिम छात्र समिति र पुरुषोत्तम बस्नेत, होमनाथ दाहालको अगुवाईमा सगरमाथा छात्र समिति गठन भए ।

सम्पूर्ण प्रजातन्त्रवादी विद्यार्थी संगठनलाई एकै छातामुनि राखेर बृहत प्रजातान्त्रवादी विद्यार्थी संगठन निर्माण गर्ने र पञ्चायत विरुद्धको आन्दोलन सशक्त पार्ने मूल उद्देश्यले वीपी कोइराला, सूवर्णशम्शेर र कृष्णप्रसाद भट्टराईको विषेश प्रयासमा नेपाल विद्यार्थी संघको स्थापना हुन पुग्यो । पञ्चायतको अत्यन्तै कडा निगरानीमा भूमिगत तवरले सम्पन्न भएको प्रथम सम्मेलनले प्रजातान्त्रिक पद्दति (मतदान) बाट केन्द्रीय कार्यसमिति चयन भयो । २०३५ सालमा शेरबहादूर देउवाको नेतृत्वमा सुरु भएको संयुक्त विद्यार्थी आन्दोलन सामु तत्कालीन पञ्चायती सरकार झुक्न पुग्यो र जनमत संग्रहमा जान बाध्य भयो ।

यस आन्दोलनमा नेपाल विद्यार्थी फेडेरेसन र प्रगतिशील विद्यार्थी संगठन समेत सहभागी थिए । अस्थिर राजनीतिक व्यवस्थाका कारण २०२७ देखि ०४६ सम्म नेविसंघले तीनवटा आन्दोलनलाई सँगसँगै अगाडि बढाउनु परेको थियो ।

पहिलो – राजनीतिक परिवर्तनको आन्दोलन अर्थात निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलन

दोस्रो– शैक्षिक र वर्गीय आन्दोलन

तेस्रो– आम नेपाली जनताको जनजिविकाको सवालको आन्दोलन

विद्यार्थी आन्दोलनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल र कुनै समय सडक बाघको उपाधि प्राप्त गरेको नेविसंघको भूमिका समकालीन नेपाली राजनीतिमा भने फिक्का बन्दै गएको छ । ०६२/६३ को राजनैतिक परिवर्तन पछाडि यो संगठनले विस्तारै आफूलाई मूल उद्देश्यबाट टाढा राख्दै गएको छ ।

निरकुंश पञ्चायतमा भएका विद्यार्थी आन्दोलन राष्ट्रिय हितमा, आम जनताका हितमा र आम युवा विद्यार्थीका हितमा केन्द्रीत हुने गर्दथ्यो । ०३५ को विद्यार्थी आन्दोलनदेखि ०४६ को जनआन्दोलन हुदैं ६२/६३ को ऐतिहाँसिक जनआन्दोलन सम्म आईपुग्दा नेविसंघले खेलेको भूमिकाका बारेमा जति वर्णन गरेपनि पूरा हुँदैन ।

०४६ सालमा विद्यार्थी नेताहरु बालकृष्ण खाँड, नविन्द्रराज जोशी र एनपी साउदहरु सडकमा निस्कँदा शासकहरु थर्कमाान हुन्थे ।

०६१ माघ १९ गते शाही कदम पछाडि गगन थापा, विश्वप्रकाश शर्मा, गुरु घिमिरे, केशव सिंह, किशोरसिंह राठौर, महेन्द्र शर्मा, जस्ता विद्यार्थी नेताहरुले सडक तताउँदा शाही शासकहरुको पसिना छुट्थ्यो । तर, ०६२/०६३ पछाडि विद्यार्थी राजनीतिको दृश्य फेरिएको छ ।

गणतन्त्र स्थापना पश्चात नेविसंघ थकित जस्तो देखिएको छ । एकातिर आन्तरिक गुटबन्दीले चरम रुप लिनु र सोही कारण समयमै आफ्नो महाधिवेशन गराउन नसक्नु नेविसंघ भित्रको प्रमुख समस्या हो । त्यसैकारण घरेलु समस्यामा रुमल्लिएको नेविसंघले जुन रचनात्मक भूमिका खेल्नुपर्ने हो त्यो सकिरहेको छैन ।
विधानतः हरेक २र२ वर्षमा हुनुपर्ने महाधिवेशन २०६४ जेठ बाट ९ बर्षपछि बल्ल बल्ल भएको छ । यो भने नेबिसंघको लागि ज्यादै खुसीको कुरा हो ।

महिलासंघको समेत अधिवेशन सफल रुपमा सम्पन्न गरेको कााग्रेसले अन्तिममा आएर तरुण दलको पोखा अधिवेशनमा भने टीके प्रथालाई संस्थागत गर्यो, बिना निर्बाचन नै भागबण्डा लगाएर केहि तरुणहरुको नेतृत्वमा अपूर्ण कमिटि गठन गर्यो, यो लोकतन्त्रमा बिश्वास गर्नेहरुका लागि दुर्भाग्य हो । आफूलाई लोकतान्त्रिक संगठनको रुपमा परिभाषित गर्ने र अरुलाई लोकतन्त्रको पाठ सिकाउने संगठनकै यस्तो हविगत हुनु दूर्भाग्य हो । तरुण दलको निर्बाचन गर्न नसक्नु काँग्रेस नेतृत्वको ठूलो गल्ती हो ।

निर्बाचन भएपनि संगठन चुस्त रुपले अगाडि बढाउन नसकेका कारण पछिल्ला दिनहरुमा नेविसंघ लागयतका भातृसंस्थाहरुले गर्ने हरेक आन्दोलनहरु निर्णायक तहमा पुग्न सकिरहेको छैन । आन्दोलन सुरु गरिन्छ, तर निश्चित बिन्दुमा नपुगी सम्झौता गरिन्छ । न त सम्झौता पारदर्शी हुन्छ, न त सम्झौता गर्नुको कारण कार्यकर्ता सामू भनिन्छ ।

हरेक २/२ वर्षमा हुनुपर्ने स्ववियूको निर्वाचन ०६५ चैत्र देखि हुन सकिरहेको छैन, जहिल्यै मिति तचोकिन्छ तर कहिल्यै स्वबियू निर्बाचन हुदैन । त्रिविबाट प्रमाणपत्र हटाउँदा विद्यार्थी संगठनसँग भएको सम्झौताको कार्यान्वयन आजसम्म भएको छैन । जसका कारण अहिले नेपालको शैक्षिक क्षेत्र माफियाको नियन्त्रणमा पुगेको छ र गरिब जनताका छोराछोरी चर्को मुल्य तिर्न बाध्य छन् । दशकौंदेखि सीमित विषयमा भन्दा अरु विषयमा पढाइ हुँदैन, व्यवहारिक, प्राविधिक र रोजगारमूलक विषय क्याम्पसमा भिर्याउन दबाव दिनुपर्नेमा यो कुराप्रति पटक्कै चासो छैन । समग्र शैक्षिक गुणस्तर वृद्धिमा कहिल्यै आन्दोलन गरिएन ।

विभिन्न समयमा हुने गरेका महंगी, कालोबजारी र मुल्यवृद्धी विरुद्धका आन्दोलनहरु निकम्मा साबित हुने गरेका छन लक्ष्यमै नपुगी बिचबाटोबाटै फिर्ता हुने र टुँगिने गरेकातर्फ औंला उठन छाडेका छन । विगतमा ऐतिहासिक सफलता प्राप्त गरेको विद्यार्थी आन्दोलन यतिबेला सुस्ताउँदै गएको छ । समकालीन विद्यार्थी आन्दोलनका नेतृत्वकर्ताहरु हरेक आन्दोलनका अगाडि नाफा घाटाको जोडघटाउ गर्छन् । ठेक्कापट्टा, गुण्डागर्दी र अराजकता अहिलेको विद्यार्थी राजनितिको पर्याय बनेको छ । यतिबेला विद्यार्थी आन्दोलन द्रव्य (रकम) मुखी भएको छ ।

नेविसंघले आफ्नो स्थापना  दिबश मनाउदा हामी कहाँनेर चुक्यौं र किन बाटो बिरायौ भनेर समीक्षा गर्नु जरुरी भइसकेको छ । प्रथम सशस्त्र क्रान्तिमा अधिकाश युवा विद्यार्थीहरु नै मुक्तिसेनामा समाहित भएर युद्ध लडेका थिए । राजा महेन्द्रलाई बम प्रहार गर्नेदेखि हवाइजहाज अपहरणसम्म गर्ने बहादुर युवा विद्यार्थीको संगठन यतिबेला चाकरी र स्वार्थको चौघेरामा पुगेको छ ।

नेविसंघको आन्दोलन र भूमिका यतिबेला अत्यन्तै नाजुक अवस्थामा पुगेको छ । अर्को शब्दमा भन्दा नेविसंघ यतिवेला जिवनमरणको दोसाँधमा उभिएको छ । जीवनमरणको दोसाँधमा रहेको नेविसंघलाइ पुर्नताजगी गराउन, संगठनमा पुर्नजागरण र निखारता ल्याउन र नेपालको लोकतान्त्रिक, शैक्षिक र राष्ट्रियताको मुद्दालाई थप उचाइमा र्पुयाउन सर्वप्रथम नेविसंघ स्वयं रुपान्तरित हुन जरुरी छ ।

वर्तमानमा अवरुद्ध साँगठनिक गतिविधिलाई गति दिन र योजना र दृष्किोण बिहिन नेतृत्वलाई मति दिनका लागी र नेविसंघलाई विद्यार्थी आन्दोलनमात्र होइन मुलुक र जनताको आवाजको सारथी बनाउन, संगठनलाई गतिहिन र दिशाहिन नेतृत्वको कोठरीबाट बाहिर निकाल्न र जीवन्त बनाउनका खातिर तपाई हामी सचेत युवा लोकतन्त्रवादी विद्यार्थीहरु एकपटक सोच्न र मिहिन ढंगले लाग्न जरुरी भईसकेको छ । नेपालको शैक्षिक,सामाजिक र राजनैतिक जागरणको नेतृत्वकर्ता संगठन आज आफैभित्र आपनै समस्या र पारिवारीक उल्झनमा रुमल्लिनु लोकतन्त्रमा आस्था राखेर बाँच्न चाहनेहरुका लागी दुखद कुरा हो ।

पुर्खा र अग्रजहरुको त्याग, निष्ठा, बलिदान र उच्च सर्मपनभावको गौरवपुर्ण इतिहाँस बोकेको एउटा लोकतान्त्रिक संगठनलाई धेरै दिन अन्यौलता, अर्कमण्यता र अस्थिरताको बादलभित्र हराई रहनदिनु हाम्रो ठुलो कमजोरी हुनेछ तसर्थ यसबाट मुक्त गर्दै जीवन्त र गतिशिल बनाउन, आन्तरिक रुपमा मजबुत र जिउदो जाग्दो र आशा लाग्दो संगठनको रुपमा नव जीवन दिनका लागी तपाई हामी तरुन युवा विद्यार्थीहरु मन, वचन र कर्मले दृढताका साथ लागीपर्न अबेर भईसकेको छ ।

गौरवपुर्ण बिराशत र इतिहाँसका कठिन मोडहरुमा पुर्वजहरुले गरेको त्याग, निष्ठा र लगानीलाई सच्चा मनले श्रद्धा त्यतिवेला हुनेछ हामी जतिवेला हाम्रा सवै आन्तरिक समस्याहरु व्यवस्थापन गर्दै नेविसंघलाई मुलुकको भरपर्दो र आशालाग्दो संगठनको रुपमा पुन आम विद्यार्थीहरु र आम जनमनमा बस्न र बसाउन सक्नेछौ ।

नेबिंसंघलाई प्रत्येक बिद्यार्थीको साझा संस्था बनाउने अभियानमा लाग्न अहिलेको नयां निर्बाचित संगठनको दायीत्व हुनेछ, शैक्षिक माफियाहरुलाई निरुत्साहित गरि शिक्षा क्षेत्रलाई बिद्यार्थीको पहुंचमा ल्याउने दायीत्व पनि नेबिसंघकै भएकोले उक्त ध्यान नेबिसंघ नेतृत्वको जाओस ।
( लेखक नेपाल बिद्यार्थी संघको केन्द्रिय समिति सदस्य हुन् । )

तपाईंको प्रतिकृयाहरू


Loading...