विशेष

यसरी सफल भए कुलमान घिसिङ, जसको यसबेला देशैभर चर्चा छ !

काठमाण्डौ । यसबेला काठमाण्डौका चोक–चोकमा एउटा बहस सुनिन्छ,‘यो कुलमान भन्ने मान्छ को होला ?’ ‘योचाहि मान्छे नेपालका लागि चाहिने मान्छे रहेछ ।’ सहरका गल्ली–गल्ली र चोक–चोकमा कुलमानको प्रशंसा गर्ने धेरै छन् । नछाउन पनि किन लोकमानले पछिल्लो समयमा चालेको एउटा कदमले नेपालीहरुका तिनै अँध्यारा गल्ली, चोक र घरहरु झिलिमिली भएका छन् ।

कुलमान घिसिङ, जो यसबेला नेपाल विद्युत प्राधिकरणको एमडी छन् र उनी सो जिम्मेवारीमा आएको केही महिनामै उनले नेपाली जनताका लागि केही गरेर देखाइदिएका छन्, आशा जगाएका छन् । कसैले नपत्याएको एउटा समस्यालाई सहजै समाधान गरिदिए पछि शहरमा कुलमान बिकेका छन्, नेता र राजनीतिक दलहरुको चर्को विरोध गर्दै आएको नेपाली समाजले एउटा पृथक पात्र पाएको छ, जो कुलमान घिसिङको नाममा ‘चम्किलो तारा’ बनेर उदाएका छन् ।

रामेछापको वेथानजस्तो एउटा पिछडिएको गाउँ, तामाङ वस्ती अनि अशिक्षित समाजमा जन्मेका कुलमान घिसिङ वास्तवमा सानैदेखि तीक्ष्ण बुद्धिका विद्यार्थी थिए । टुकी बत्तीको साहारामा प्रारम्भिक अध्ययन सुरु गरेका घिसिङलाई भोली नेपाललाई झिलिमिली पार्ने पात्र हुन्छु भन्ने सोच त त्यसबेला थिएन, तर टुकी बत्तीको साहारामा घिस्रिरहेको बेथानमा भने बिजुली बाल्ने सोच भने उनले त्यसबेला पनि बनाएका थिए । केही महिनाअघि दिएको एउटा अन्तरवार्तामा घिसिङले भनेका छन्, ‘सानामा टुकी बालेर पढ्थे, मैले काठमाण्डौ आएर मात्रै हो बिजुली देखेको ।’

विद्यालयमा सँधै प्रथम भैरहने कुलमान, बेथानमा पढ्दा पनि प्रथम भैरहन्थे । केही समयको प्रारम्भिक पढाइपछि उनलाई आफ्ना दाइहरुले काठमाण्डौ ल्याएर पढाउन थाले । सरकारी विद्यालयमा केही समय पढेका उनले लगत्तै नीजि विद्यालयमा समेत अध्ययन गर्न सुरु गरे । कक्षामा विद्यालय प्रथम हुनुत उनको दिनचर्या नै हुन्थ्यो ।

विद्यालयमा अध्ययन गरिरहेका उनको तेज पढाई देखेर मानिसहरुले भन्ने गर्थे, कुलमानले प्रवेशिका परीक्षामाचाहि बोर्ड हान्छ तर उनले सोचेजस्तो भएन् । उनी बोर्डमा परेनन्, उनका साथी भने बोर्डमा परेका थिए । त्यसपछि उनले अस्कल क्याम्पसबाट आइएस्सी गरे र त्यसको लगत्तै छात्रावृत्तिमा भारतमा पढ्न गए । भारतबाट सन् १९९४ मा (बिएस्सी) इलेक्ट्रिकल इन्जिनियरिङ गरेर नेपाल फर्केलगत्तै उनी नेपाल विद्युत प्राधिकरणमा जागिरे भए ।

त्यहाँ उनी सातौ तहको इन्जिनियर भएका थिए । त्यसपछि सुरु भयो कुलमानको सरकारी जागिरको यात्रा । त्यसपछि निकै ठूला उत्तारचढावका बीच कुलमान अहिलेको स्थानमा आइपुगे, जसले गरेको एउटा लोकप्रिय कामले (लोडसेडिङ मुक्त गर्ने काम) यसबेला नेपालमा हाई–हाई कमाइरहेको छ ।  प्राधिकरणमा रहँदा उनले बीचमा चिलिमे हाइड्रोपावरको महत्वपूर्ण जिम्मेवारी समेत पाएका थिए ।

स्वदेशी लगानीमै विद्युत उत्पादन गर्न सकिन्छ भन्ने उनको अवधारणा त्यहाँ सफल भएको देखिन्छ, तर सेयर बाँडफाँडको कुरामा विवाद भएपछि कुलमानविरुद्ध ठूलो षडयन्त्र भयो र उनी चिलिमेबाट प्राधिकरणको केन्द्रीय कार्यालयमै तानिए । केन्द्रीय कार्यालयमा आएपछि उनी करिब २ वर्षसम्म विना जिम्मेवारीमा रहनुपर्यो ।

नेपालमा हुने राजनीतिक खेल र त्यसको नकारात्मक प्रभावमा कुलमान घिसिङको अस्तित्व पनि धुलोपिठो हुने देखिदै थियो तर अहिले आएर उनी एमडी हुन सफल भए, जसका कारण केही दिनमै उनले निकै धेरै जनघनत्व थेगेर बसेको काठमाण्डौ उपत्यकालाई लोडसेडिङ मुक्त गरिदिए ।

वास्तवमा यो अवधारणालाई कुलमानले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा गरेको सोधपत्रले (इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट ) ले ठूलो सहयोग गरेको उनले बताउने गरेका छन् ।

कुलमान घिसिङले जब उपत्यकालाई लोडसेडिङ मुक्त गर्ने काम गरे, त्यसपछि उनका विरुद्ध षडयन्त्र भैरहेका खबरहरु पनि बाहिर आइरहेका छन् । प्राधिकरण सञ्चालक समितिकै सदस्यहरु उनी विरुद्ध लागेका खबरहरु बाहिर आइरहनु दुःखको कुरा हो । यद्यपि, उनीहरुलाई उर्जा मन्त्रालयले स्पष्टीकरण पनि सोधिसकेको उर्जामन्त्री जनार्दन शर्माले बताएका छन् ।

जनताको पक्षमा काम गर्ने व्यक्तिविरुद्ध सञ्चालक समितिका सदस्यहरु लागेको स्पष्ट प्रमाण भेटिए उनीहरुलाई कार्वाही समेत हुने मन्त्री शर्माले चेतावनी समेत दिइसकेका छन् । मन्त्री शर्माले दिएको यो चेतावनी पनि यसबेला न्यायपूर्ण छ । त्यसैले, हामीले कुलमानको पक्षमा आवाज उठाउनुपर्छ, विकास र प्रगतिको विषयमा निराश हुँदै गएको नेपाली समाजलाई उनले जसरी एउटा उत्प्रेरणा जगाएका छन्, त्यसको आत्मैदेखि सम्मान गर्नुपर्छ ।