पु.समाचार

अठार घण्टे लोडसेडिङलाई शून्य बनाएका कुलमानलाई नेपालीहरुका तर्फबाट बधाई !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल एक हजार २८६ मेगावाट विद्युत् माग छ ।

भारतबाट समेत आयात गरिएको विद्युत् समेत जोड्दा कुल ८८६ मेगावाट मात्रै विद्युत् आपूर्ति भइरहेको छ तर काठमाडौं उपत्यकामा विद्युत्भार कटौती भएको छैन । उपत्यका बाहिर पनि औसतमा दुईदेखि चार घन्टा मात्रै विद्युत् कटौती गरिएको छ ।

सुन्दा अचम्म लाग्न सक्छ, कसरी सम्भव भयो ?

कुशल व्यवस्थापन गरिएकै कारण प्रणालीमा कुल ४०० मेगावाट विद्युत् अपुग भए पनि राजधानी काठमाडौं, काभ्रेपलाञ्चोक, धादिङ, रसुवा र नुवाकोटलाई विद्युत्भार कटौती मुक्त गर्न सकिएको हो ।

माथिल्लो मर्स्याङ्दी, हेवा खोलालगायत केही आयोजनाबाट हाल ४५ मेगावाट मात्रै विद्युत् उत्पादन थप भएको छ । केही आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । तर, केन्द्रीय प्रणालीमा विद्युत् पनि जोडेका छैनन् ।

विद्युत्भार कटौती भने नगन्य मात्रामा रहेको छ । प्राधिकरणका अनुसार हाल भारतबाट करिब २८० मेगावाट विद्युत् आयात भइरहेको छ । निकट भविष्यमा नै थप २५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ । गत तिहारदेखि उपत्यकामा विद्युत् कटौती भएको छैन ।

कसरी सम्भव भयो त ? भन्ने प्रश्नमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्, ‘हामीले व्यवस्थापन मात्रै गरेका छौँ जसका कारण सहजरुपमा विद्युत् उपलब्ध गराउन सकिएको छ । यसमा जनताको थप साथको आवश्यकता छ ।’

गत वर्ष प्राधिकरणले विद्युत् आपूर्ति कम भएको भन्दै मङ्सिर महिनादेखि नै दैनिक छ घन्टा विद्युत् कटौती गर्दै आएको थियो । प्राधिकरणले गत असार, साउन र भदौमा समेत विद्युत् आपूर्ति कम भएको भन्दै दैनिक सात घन्टासम्म विद्युत् कटौती गर्दै आएको थियो ।

सातापिच्छे नै विद्युत् कटौतीको सूचना सार्वजनिक गर्ने प्राधिकरणले यस वर्ष भने कुनै सूचना सार्वजनिक नगर्ने र सकेसम्म मुलुकभर नै विद्युत् कटौतीमुक्त गर्ने योजनामा लागेको छ ।

ऊर्जा मन्त्री जनार्दन शर्माका अनुसार आगामी हिउँदमा सकेसम्म विद्युत् कटौती गर्नु नपर्ने गरी काम सुरु भएको बताउनुहुन्छ । ‘हामीले सबै उपाय अवलम्बन गरेरै भएपनि मुलुकलाई उज्यालो पार्ने अभियानमा लागेका छौँ ।” बढी विद्युत् माग हुने समयमा अत्यधिक विद्युत् प्रयोग गर्ने उपकरण नचलाउन उपभोक्तालाई आग्रह गरेका छौँ । यसबाट पनि केही राहत मिल्ने विश्वास लिएका छौं, उनले भने ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार निरन्तर विद्युत् उपलब्ध हुन थालेपछि काठमाडौं उपत्यकामा रहेका करिब दुई लाख इन्भर्टरले खपत गर्ने विद्युत्समेत प्रणालीमा नै रहेका कारण विद्युत् आपूर्ति सहज भएको हो । इन्भर्टरले मात्रध करिब १०० मेगावाट विद्युत् खपत गर्ने गरेका थिए । ‘निरन्तर विद्युत् आपूर्तिका कारण ब्याट्री चार्ज गरेर राख्नुपर्ने अवस्थाको अन्त्य भएको छ, जसका कारण पनि सहज भएको हो’ प्रवक्ता अधिकारीले भने ।

नदीमा जलस्तर घट्दै जाँदा कसरी सन्तुलन मिलाउने भन्ने चिन्तामा भने प्राधिकरण यतिबेला परेको छ । तर इच्छा शक्ति भए कुनै समस्या नपर्ने धारणा सार्वजनिक गर्दै अगाडि बढेको प्राधिकरणले ढल्केबर सवस्टेशनबाट आगामी पुस १५ देखि थप ८० मेगावाट विद्युत् जोड्ने तयारी गरेको छ ।

यस्तै, कुशाहा–कटैया प्रसारण लाइनबाट ५० मेगावाट, रक्सौल –परवानीपुरबाट ५० मेगावाट र टनकपुरबाट थप ३० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ ।