अन्तर्राष्ट्रिय

जब विद्रोहीहरु प्रहरीको भेषमा कारागारमा पुगे…!

एजेन्सी । प्रहरीको लुगामा आएका एक समूहले नाटकीय रूपमा कारागारबाट भगाएको एक दिनपछि एक सिख लडाकू कमान्डरलाई भारतीय प्रहरीले राजधानी दिल्लीमा पुनः पक्राउ गरेको छ ।

सिख पृथकतावादी समूहका प्रमुख हर्मिन्दर सिंह मिन्टुलाई पञ्जावको उच्च सुरक्षायुक्त कारागारबाट करिब २०० किलोमिटर पर दिल्लीको बाहिरी भागमा पक्राउ गरिएको थियो । मिन्टुलाई आतङ्कवादको आरोपमा कारागारमा राखिएको थियो ।

स्थानीय एक वरिष्ठ प्रहरी अधिकारी ए.एस। चाहलले मिन्टुलाई दिल्लीमा बिहान पक्राउ गरिएको र पञ्जाव ल्याइने जानकारी दिए ।

मिन्टुसँगै भागेका अन्य चार अझै फरार रहेको चाहलले बताए । उनीहरूमाथि हत्याको आरोप लागेको थियो ।

खालिस्तान लिबरेसन फोर्सका नेता मिन्टु पञ्जावमा शिख राज्यका लागि कार्य गर्थे र निजलाई सन् २०१४ मा पक्राउ गरिएको हो ।

आइतबार प्रहरीको लुगामा आएका १० सशस्त्र व्यक्तिको समूहले मिन्टुलाई भगाएको हो । उनीहरूले एक सुरक्षाकर्मीमाथि धारिलो हतियार प्रयोग गरी बन्दी लिइ गाडीमा भाग्दा गोली चलाएका थिए ।

यस घटनामा तीन प्रहरी घाइते भएका थिए भने त्यसपछि उनीहरूको व्यापक खोजी भएको थियो ।

यसबीच कारागारको केही माइल पर एक गाडीलाई प्रहरीले एक चौकी अगाडि रोक्न खोज्दा नरोकी भाग्दा प्रहरीले चलाएको गोलीबाट एक महिलाको मृत्यु भएको छ । यो घटना मिन्टुको भगाइसँग सम्बन्धित नभएको प्रहरीले जानकारी दिएको छ ।

मिन्टुका बारेमा जानकारी दिने व्यक्तिलाई २५ लाख दिने घोषणा भएको थियो । मिन्टु कारागारबाट भागेपछि कारागारका तीन प्रमुख अधिकारीलाई बर्खास्त गरिएको थियो ।