खेलकुद

एसकेडियुएन हलको गगनद्वारा उद्घाटन

काठमाडौें । नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन) को प्रशिक्षण हलको शनिबार उद्घाटन गरिएको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले हलका शनिबार विधिवत् उद्घाटन गरेका छन् ।
बुढानीलकण्ठ नगरपालिका ३ स्थित महादेव खोलामा रहेको करिब १ रोपनी ८ आना जग्गा क्षेत्रफल भित्र हल निर्माण गरिएको हो । हल निर्माण गर्न ३६ लाख ४० हजार रुपैयाँ खर्च भएको संघले जनाएको छ । तत्कालीन बुढानीलकण्ठ गाविसबाट २०५७ सालमा संघलाई उक्त जग्गा प्राप्त भएको थियो ।
कार्यालय भवन, ब्याडमिन्टन र बास्केटबल कोर्ट, जिम हल निर्माण, खेलाडीको चेन्जिङ रुमलगायत निर्माण गर्ने योजना पनि रहेको संघले जनाएको छ ।
सो अवसरमा सन् २०१५ मा सर्बियामा भएको विश्व च्याम्पियनसिपमा कांस्य जित्न सफल खेलाडीद्वय विन्दन थापा मगर र रुपेश कुँवरलाई पनि सम्मान गरिएको थियो ।