राजनीति

मधेसमा विखण्डनकारी शक्ति सक्रिय : कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिले मधेसमा विखण्डनकारी शक्ति सक्रिय भएकाले सबै पक्ष सचेत हुनुपर्ने बताएका छन् ।

मिडिया नेपालले शनिबार हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले मधेसमा समस्या रहेको मौका पारेर विखण्डनकारी शक्ति सक्रिय भएकाले सरकार, मधेसवादी र अन्य दल समयमै सचेत हुनुपर्ने बताए ।

मधेसको समस्या समाधान गरेर विखण्डनकारीलाई पाखा लगाउन संविधान संशोधनका लागि सबै दल एकै स्थानमा उभिन आवश्यक रहेकामा उनले जोड दिएका छन् ।

संविधान कार्यान्वयन र निर्वाचन गर्न मधेसको समस्या समाधान आवश्यक रहेको थापाले बताए । समयमा नै सचेत नभए मधेसले विकराल रुप लिने र संविधान नै धरापमा पर्ने उनको दाबी छ ।

राप्रपा नेपालका अध्यक्ष थापाले पार्टी एकीकरणपछि सरकारमा जाने की नजाने भन्ने विषयमा प्रधानमन्त्रीको कार्यशैलीमा भर पर्ने बताए । रासस