अन्तर्राष्ट्रिय

नरेन्द्र मोदीले भारतीय नोटमा प्रतिबन्ध लगाएपछि बिल गेट्सले गरे यस्तो टिप्पणी !

एजेन्सी–भारतमा यसबेला नरेन्द्र मोदी नेतृत्वको सरकारले ५ सय र १ हजारका पूराना नोट बन्द गर्ने निर्णय गरेपछि चर्को बहस सुरु भएको छ । प्रधानमन्त्री मोदीले एक्कासि यो कदम चालेपछि भारतीय रुपैयाँले प्रभाव पारेका संसारका अन्य राष्ट्रहरुको आर्थिक नीतिमा समेत प्रभाव परिरहेको छ ।

यो सबालमा संसारका सरकार प्रमुख, अर्थविद, प्रसिद्ध व्यापारीहरु लगायतले आ–आफ्नै धारणा राखिरहेका छन् । यद्यपि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने सम्पूर्ण भारतीय जनताहरुलाई धैर्य गर्न आग्रह गरिरहेका छन् । उनले यो समस्या केही समयमै समाधान भएर जाने आश्वासन दिइरहेका छन् । प्रधानमन्त्री मोदीको यो कदमको विपक्षीहरुले चर्को आलोचना समेत गरिरहेका छन् ।

यसैबीचमा संसारकै एक नम्बर धनी व्यक्तित्वको रुपमा रहेक बिल गेट्सले पनि भारतीय अर्थतन्त्र मात्र होइन, विश्व अर्थतन्त्रलाई प्रभाव पर्ने गरी चालिएको यो कदमको बारेमा टिप्पणी गरेका छन् । बीबीसीसँगको कुराकानीका क्रममा उनले भनेका छन्, ‘भारतीय सरकारको नोट बन्द गर्ने निर्णय कागजी मुद्रालाई विस्थापित गरेर डिजिटल लेनदेनतर्फ अघि बढ्ने एउटा नयाँ फड्को (कदम ) हो ।’

उनले भनेका छन्, ‘अबको युग डिजिटलको युग हो,त्यसैले डिजिटल प्रणालीमार्फत आर्थिक लेनदेन गर्न धेरै महंगो पनि पर्दैन, कागजको मुद्राको सट्टा अब त्यो संस्कृतिको विकास गर्नुपर्छ, मलाई थाहा भएअनुसार भारतीय सरकारले यही आधारमा बैंक कार्डहरु निर्माण गर्ने र अकाउन्टहरु खोल्नका लागि सबैलाई आव्हान गर्दै तयारी गरिरहेको छ ।’

गेट्सले अब ग्रामीण क्षेत्रहरुमा पनि बैंकहरु खुल्नुपर्ने बताएका छन् । ‘जबसम्म ग्रामीण क्षेत्रहरुमा बैंकहरु निर्माण गरेर इन्टरनेटका माध्यामबाट लेनदेन सुरु हुँदैन, तबसम्म किसानहरु समेत पैसाको पहुँचमा पुग्न मुस्किल हुन्छ,’ गेट्सले भने । फोब्र्स म्यागाजिनले गरेको सन् २०१६ को सर्वेक्षणअनुसार बिल गेट्स संसारकै सबैभन्दा धनी व्यक्ति हुन् ।