समाचार

भारतीय राष्ट्रपति काठमाण्डौ घुम्दा अघोषित कर्फ्यू !

काठमाण्डौ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपालको ३ दिने राजकीय भ्रमण जारी छ । राष्ट्रपति मुखर्जी बुधबार भारतीय वायु सेनाको जहाजमार्फत १२ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका विशिष्ठ व्यक्तित्वहरुले भारतीय राष्ट्रपति मुखर्जीको भव्य स्वागत गरेका थिए भने नेपाली सेनाले मुखर्जीको स्वागतार्थ सम्मानका लागि २१ तोपको सलामी दिएको थियो ।

त्यसलगत्तै मुखर्जीको कारगेड एयरपोर्ट, नयाँ बानेश्वर हुँदै राष्ट्रपति भवन शितल निवास पुगेको थियो । यो भ्रमणको मामलामा नेपालले भारतीय राष्ट्रपतिलाई विशेष सुरक्षा सतर्कता अप्नाइरहेको देखिन्छ तर सरकारले गरेको सुरक्षा सतर्कताको तयारी भने पञ्चायतकालमा आफ्नै देशका राजामहाराजाहरुलाई दिने सुरक्षा सतर्कता भन्दा कडा देखिएको भन्दै कडा आलोचना सुरु भएको छ ।

mukharji
अघोषित कर्फ्यू
बुधबार जब भारतीय राष्ट्रपति मुखर्जी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए, तब काठमाण्डौका सडकहरुमा सुरक्षाकर्मीहरुका सिटीहरु कडा रुपमा बज्न थाले । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निकै कडा रुपमा सडकमा अघोषित कफ्र्यूनै लगाएको थियो ।

राष्ट्रपति मुखर्जीको सवारी हुने बेलामा त सर्वसाधारणलाई जेब्रा क्रसिङबाट बाटो काट्न समेत निषेध गरिएको थियो । वैकल्पिक बाटो प्रयोग गर्दै मर्ने र बाँच्नेको दोसाँधमा रहेका बिरामी बोकेर आएका एम्बुलेन्सहरुले समेत त्यसबेला बाटो पाएनन् ।

सुरक्षाकर्मीहरुले भित्री बाटो देखाएर एम्बुलेन्सहरुलाई अस्पताल जान सुझाइरहेका थिए । नेपाली सेनाको हेलिकोप्टरले आकाशबाट समेत गस्ती गरिरहेको थियो । यसबाट के प्रस्ट हुन्छ भने भारतीय राष्ट्रप्रमुखको सुरक्षाका लागि सरकार हतास मनस्थिति लिएर दुस्साहासी निर्णय लिइरहेको छ, जसले सर्वसाधारण जनताको पीडालाई बुझ्नै चाहेको छैन । उस जनताबाट भने कटिरहेको छ ।

सरकारले गरेको यो तयारीको विश्व जनमासमा त राम्रै सन्देश जाने निश्चित छ, तर सडक पेटीबाट समेत त्रसित भएर डराई–डराई कारगेडको लर्को हेरिरहेका सर्वसाधारणले चाहि सरकारलाई भारतीय राष्ट्रपतिलाई यत्रो गर्न सक्ने सरकारलेचाहि अहिलेसम्म हामी जनतालाईचाहि किन यो हविगतमा पुर्याएको होला नि ? भनेर प्रश्न गरिरहेका छन् ।

एक वर्षअघि लगाएको नाकाबन्दी र त्यसको चोट बिर्सिनसकेका सर्वसाधारणले यो मानेमा चर्को आलोचना गरिरहेका छन् । सत्ता टिकाउन भारतलाईनै खुसी पार्नुपर्छ भन्ने नेपालका राजनीतिक दलका शीर्ष नेताहरुको चिन्तनलाई आगामी निर्वाचनमा ठिक गर्ने टिप्पणी सर्वसाधारणहरुले चोक चोकमा गरिरहेको देखिन्थ्यो । यसले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डलाई समेत ठाडो चूनौती थपिएको आंकलन गर्न सकिन्छ ।

मुखर्जीको नेपाल भ्रमणको कडा विरोध
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको कडा विरोध भैरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा राष्ट्रपति मुखर्जी आउने दिन सार्वजनिक विदा दिएसँगै सरकारको समेत कडा रुपमा विरोध भैरहेको छ । त्यसमा सरकारले राष्ट्रपति मुखर्जीका लागि गरेको सुरक्षा तयारीले आगोमा घिउ थप्ने काम गरेको छ । सामाजिक सञ्जालहरुमा भारतीय राष्ट्रपतिको भ्रमणविरुद्ध सर्वसाधारणले आगो ओकलिरहेका छन्, जसको सरकारले प्रवाह गरिरहेको छैन । यसले सरकारको भविष्यमाथि समेत चूनौती ल्याइदिन सक्ने एकथरीको विश्लेषण रहेको छ ।