• Tuesday, October 25th, 2016
  • शनिबार, ०७ साउन २०७४

संकट अझै टरेको छैन : शेर्पा

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

काठमाण्डौ । गत वर्ष नेपालमा गएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण यहाँको पर्यटन व्यवसाय खस्कदै गएको छ । जसका कारण यस क्षेत्रमा लागेका पर्यटन व्यवसायी निराश हुँदै छन् । यसै सन्दर्भमा प्रस्तुत छ, यहाँको वर्तमान पर्यटनको अवस्था, राज्यको भूमिका, चुनौति र सम्भावनाका विषयमा ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष एवं पर्यटन व्यवसायी टासी लाक्पा शेर्पासँग गरेको कुराकानी:

गत वर्षको भूकम्पपछि केही समय थलिएको नेपालको पर्यटन व्यवसाय अहिले कस्तो अवस्थामा छ ?
२०१४ देखि नेपालको पर्यटन क्षेत्र बिग्रिएको छ । २०१५ मा गएको भूकम्पपछि त झनै तहसनहस नै भयो भनौँ । भूकम्पभन्दा अझ बढी असर भारतीय नाकाबन्दीले पारेको हो कि भन्ने विश्लेषण पर्यटन व्यवसायको छ । नाकाबन्दी पछिको अवस्थामा पर्यटन क्षेत्र नै धरासाय हुन्छ भन्ने थियो । तर, प्राइभेट क्षेत्रले देखाएको सक्रिएताले अहिले सन्तोषजनक अवस्थामा छ । तर, पनि संकट भने अझै टरेको छैन । यसमा राज्यले आफ्नो भूमिका ननिभाएको हो कि भन्ने भान हुन्छ ।

भूकम्पका कारण पर्यटक घट्नै पर्ने अवस्था थियो र ?
त्यस्तो अवस्था कुनै पनि हालतमा थिएन । भूकम्पका कारण सगरमाथामा विदेशी पर्वतारोहीको मृत्यु हुनु र यहाँका पर्यटकीय भौतिक संरचनाहरु ध्वस्त हुनु हाम्रा लागि अभिश्राप बन्यो । त्यै पनि भूकम्पले देशका १४ जिल्लामा क्षति गरेको हो । त्यो पनि आंशिक रुपमा । त्यसैले पर्यटकीय दृष्टीककोणले नेपाल सम्पूर्ण रुपमा सुरक्षित थियो ।
सुरक्षित थियो त भन्नुभयो तर संख्यात्मक रुपमा त धेरै पर्यटक घटे नि ?
हो, भूकम्प र नाकाबन्दीले नेपालमा ४० प्रतिशत पर्यकटको संख्या घटेको छ । भूकम्प गएपछि विशेष गरी भारतीय मिडियाले नेपालको विषयमा धेरै नकारात्मक समचारहरु प्रसारण गरे । त्यसपछि नेपालको नाकाबन्दीमा पनि उनीहरुले त्यसैगरी अहवाफ फैलाए । उनीहरुले नेपाल पर्यटकीय दृष्टिकोणले असुरक्षित छैन, बस्न, खानका लागि राम्रो वातावरण छैन भनेर गलत प्रचार गरे । उनीहरुले यसो गर्नुको कारण नेपाल आउने पर्यटकको गन्तव्य भारत बनोस भन्ने थियो । र, यस मामिलामा उनीहरु सफल भए पनि ।
नेपालमा पर्यटकको संख्यामा ४० प्रतिशतले ह्रास आउँदा सोही समयमा भारतमा ३० प्रतिशत पर्यटक बढेका छन् । यसमा नेपाली मिडियाले रचनात्मक भूमिका निर्वाह गर्न सकेनन् । भूकम्पको क्षति, असर, परकम्पन, पर्यटकीय भौतिक संरचनामा क्षति, त्यसले पर्यटन व्यवसायलाई पारेको प्रभाव आदीका बारेमा नकारात्मक समाचार मात्र सम्प्रेषण भयो । जसका कारण अझैपछि नेपालमा त्यस्तै संकट छ भन्ने विदेशीको दिमागमा बसेको छ ।
राज्य भन्दा नीजि क्षेत्रका कारण नेपालको पर्यटन व्यवसाय फस्टाएको भन्ने छ । के पर्यटन व्यवसायको विकासमा राज्यले ध्यान नदिएकै हो त ?
जुन रुपमा चल्नुपर्ने हो अझैसम्म त्यसो हुन सकेको छैन । सामान्य रुपमा चलेकै छ । व्यवसायीले चलाएका छन् । विदेशबाट वर्षेनी १० देखि १५ लाख पर्यटक आउँदा बस्ने राम्रो व्यवस्था छैन । सोही अनुसारको एयरलाइन्स छैनन् । पर्यटन सहर बनेको छैन । अहिले जे जति छ सबै नीजि क्षेत्रले आफ्नो लगानीमा संचालन गरेका व्यवसायहरु छन् । खै राज्यले ३, ४ लाख विदेशी एकै ठाउँमा अटाउन सक्ने पर्यटकीय सहर बनाएको ?

अझ नेपाललाई प्रकृतिले दिएका केही हिमाली क्षेत्रलाई समेत निषेधित क्षेत्र घोषणा गरेको छ राज्यले । माथिल्लो तथा तल्लो डोल्पा, गोरखाको मनास्लु क्षेत्र, चुम उपत्यका लगायतका नौँ क्षेत्रमा पदयात्रा तथा आरोहणका लागि सरकारले घोषणा गरेको निषेधित क्षेत्रले विश्वमा के सन्देश जाला रु चीनको स्वचालित क्षेत्रसँग जोडिएका ती निषेधित क्षेत्रलाई तत्काल खुला गर्नुपर्छ । चीन स्वयंमले विश्व समुदायका लागि आफ्नो भूभाग खुला गरेको परिप्रेक्ष्यमा नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गर्नु तर्कपूर्ण छैन ।

राज्यको भूमिका कस्तो होस् भन्ने चाहनुहुन्छ तपाईंहरु ?
हामीले पर्यटन क्षेत्रमा राज्यको स्पष्ट नीति चाहियो भनेर माग गरिरहेका छौँ । यसमा राज्य संयन्त्र पनि सकारात्मक देखिएको छ । हाल ३३ सालको पर्यटन नीतिमा पर्यटन व्यवसाय चलेको हो । जुन अहिलेको समय सान्दर्भिक छैन । यसलाई तत्काल परिवर्तन गरेर समय सान्दर्भिक बनानुपर्ने राज्यको पहिलो जिम्मेवारी हो । राज्यले ल्याएको नीतिकै आधारमा पर्यटन व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्न सकिन्छ ।

राज्यले पर्यटन व्यवसायलाई आधुनिक युगको समयानुकुल बनाउन सकेको छैन । हामीले दिएको सुधारको आधारमा संशोधन विद्येयक तयार भएता पनि नयाँ नीति नबनाएसम्म त्यो मान्य छैन । यस सन्दर्भमा सरकाले पर्यटन क्षेत्रका विज्ञहरु राखेर काम गर्नुपर्छ । पर्यटन नीतिलाई अहिलेको समयानुकुल बनाउनु पर्छ ।

पर्यटन व्यवसायबाट राज्यले पनि त राम्रै लाभ लिन सक्छ होला नि ?
सक्छ । किन नसक्नु । पर्यटन व्यवसायीले सरकारलाई कर बुझाइरहेका छन् । सगरमाथा चढेको मात्र १ जनाबाट ११ हजार डलर आाउँछ, रोयल्टी र ट्याक्स बाट ।

हिमाली क्षेत्रको निषेधित क्षेत्र खुला गर्ने, ३,४ वटा अन्तर्राष्टिय एयरपोर्ट निर्माण गर्ने, आधुनिक पर्यटन सुविधा सम्पन्न सिटी बनाउने, दक्ष जनशक्ति उत्पादन गर्ने जस्ता कार्य राज्यले गर्ने हो भने यस क्षेत्रबाट ठूलो फाइदा लिन सकिन्छ ।

अझ प्रष्ट पारिदिनुहुन्छ कि ?
नेपालको वर्तमान पर्यटनको अवस्थालाई सन्तोषजनक मात्र छ । तर, यसको भविष्य निकै राम्रो छ । अहिले वर्षेनी ४, ५ लाख पर्यटन आउँदा पर्यटन व्यवसाय राज्यको तेश्रो आर्थिक स्रोत बनेको छ । अब तपाईं आफै सोच्नुस् १०, १२ लाख आए भने दोश्रो हुन्छ । अझ १५, २० लाख आए भने यसले नै देशलाई धान्छ । ३० लाख आए भने नेपाल एसियाकै नमुना देश बन्न सक्छ । देश आफै चल्छ । हामी आर्थिक रुपमा अरुमा निर्भर हुनु पर्दैन ।

निषेधित क्षेत्र खुल्ने, वैदेशीय उडान थप्ने र विदेशीको आगमनलाई सहज बनाउने, पूर्वाधारको विकास गर्ने, प्रयाप्त स्टार होटल बनाउने, सरकारी स्तरबाटै प्रचारप्रसार गरेर नेपालको पर्यटन क्षेत्रलाई विश्वसामू पुर्याउने, विशेष कार्यक्रम र योजनाहरु बनाउने, पर्यटकको सुरक्षाको ग्यारेन्टी गर्ने, पर्यटकीय स्थलको संरक्षण र सम्बद्र्धनमा ध्यान दिने, नीतिगत रुपमा समयानुकुल पर्यटन नीति बनाउने, पर्यटन सहर बनाउने हो भने मात्र पनि नेपालमा करिब १५ लाख पर्यटक भित्राउन गाह्रो छैन । अझ विस्तारै ३० लाख पुर्याउन सकियो भने १२ खर्ब रुपैयाँ नेपाल भित्रन्छ । यहाँ आउने १ जानाले चार हजार डलर खर्च गर्छन् । त्यसैले धेरै भन्दा धेरै पर्यटक भित्राउने लक्ष्य सरकारले लिनुपर्छ ।

त्यसका लागि नेपालसँग आवश्यक जनशक्ति छ त ?
नेपालमा पुग्नेगरी शिक्षित जनशक्ति छैन । यसका लागि पनि सरकारले विशेष योजना बनाउनुपर्छ । त्यसलाई पछ्याउने काम हाम्रो हो । मैले माथि भनेका कुराहरु मिल्दै जाने हो भने युवाहरुले सोही अनुसारको रोजगार पाउँछन् र विदेशीनुपर्ने समस्या रहँदैन । शैक्षिक रुपमा पनि पर्यटन व्यवसायमा लाग्न प्रेरित गर्ने खालको व्यवहारिक शिक्षा दिनुपर्छ ।
यस क्षेत्रमा राज्यको दायित्व न्यून रहेका बेला नेपाल पर्यटन बोर्डको भूमिका कस्तो छ त ?

पर्यटन बोर्डले जुन काम गर्नपर्ने त्यो गरेको छैन । भनौँ भने बोर्ड पूर्णरुपमा असफल छ । राम्रो पर्यटन नीति ल्याउन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरमा कुनै भेला, छलफलमूलक कार्यक्रम गर्न सकेको छैन । बोर्डसँग पैंसा हुँदाहुँदै पनि त्यसलाई उचित ठाउँमा प्रयोग गर्न सकेको छैन ।

अर्कोतर्फ पर्यटन क्षेत्रमा लागेका, हिमाल, कुना काप्चा थाहा भएको मानिसलाई बोर्ड सदस्य बनानउनु पर्यो । नियुक्ती गर्दा विज्ञ मान्छे छनोट गर्नु पर्यो । पर्वतीय पर्यटन बुझेको मान्छे हुनु पर्यो । कुर्सीमा बसेर भाषण छाट्नेको के काम । कुर्सीमा बसेर नीति बनाउने त नेपाल सरकार छदैँ छ नि । बोर्डले अहिलेसम्म एकजनापनि सगरमाथा आरोहीलाई नियुक्ति गरेको छैन ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

आन्तरिक पर्यटन राम्रो छैन । नेपालीसँग पैंसा छैन । आन्तरिक पर्यटनले पोखराको पैंसा काठमाण्डौ, काठण्डौको लुम्बिनी, लुम्बिनीको चितवन जाने हो । त्यसैले हामीले विदेशी पर्यटकलाई फोकस विदेशीलाई नै गर्ने हो ।
पर्यटनलाई मात्र जोड लिएर अन्य विकासमा सम्भाव्यता बोकेका पूर्वाधारलाई वेवास्ता गर्ने भन्ने होइन । पर्यटन सँगै कृषि र ऊर्जा क्षेत्रको सम्भाव्यता पनि नेपालमा उत्तिकै छ । यी तीन कुरालाई सँगसँगै अघि बढाउँदै लाने हो भने अबको १० वर्षभित्र देशको मुहार फेरिने निश्चित छ ।

त्यसैगरी राजनीतिक अस्थिरताले पनि देश विकासमा बाधा, अड्चन पुर्याएको छ । स्थिर राजनीति हुने हो र सबै राजनीतिक दल दत्तचित्त भएर देश विकासमा लाग्ने हो प्राकृतिक स्रोत, साधन र सम्पदाले धनी देश नेपाल एसियाकै नमुना देशको रुपमा विकास हुन धेरै समय लाग्दैन । यसका लागि जनताले पनि आफ्नो स्तरबाट सकेजति सहयोग गर्नुपर्छ । राज्यले सबै क्षेत्र, तप्का र संयन्त्रसँग हातेमालो गर्दै अघि बढ्नुपर्छ ।

तपाईंको प्रतिकृयाहरू

कुराकानी


Loading...