पु.समाचार

पाकिस्तानबाट आतंकवादी घुसेको भन्दै नेपाल–भारत सीमामा यस्तो तयारी

एजेन्सी– केही महिनाअघि पाकिस्तान विरुद्धको सर्जिकल स्ट्राइक अभियानपछि भारतले यसबेला नेपाल–भारत सीमामा समेत सतर्कता अप्नाउन थालेको छ । आफ्नो मुलुकमा नेपाल हुँदै पाकिस्तानबाट घुसेका आतंकवादीहरु छिर्ने गरेको गुप्तचर आयोगको गोप्य रिपोर्टका आधारमा भारतले दुई देशबीचको सीमामा सो अभियान थालेको हो ।

नेपालसँग जोडिएको रक्सौल लगायतका नाकाहरुमा यसबेला एसएसबीका जवानहरुले कडा चेकजाँच सुरु गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । नेपालबाट भारततर्फ जाने सबै यात्रुहरुको परिचयपत्र समेत चेक गरिन थालेको जनाइएको छ ।

शंकास्पद व्यक्तिहरुलाई सीमाबाट भारत छिर्न नदिने रणनीतिमा भारतीय सुरक्षाकर्मीहरु लागेका छन् । भारतीय गृहमन्त्रालयमा पुगेको गुप्तचर संस्थाको रिपार्टका आधारमा भारतले सो अभियानलाई थप कडाईका साथ लागू गरेको हो । भारतले सो अभियानमा नेपाली सुरक्षा अधिकारीहरुसँग समेत समन्वय गर्ने तयारी गरिरहेको बताइएको छ ।

भारततर्फ जाने सवारीमा यात्रारत यात्रुदेखि पैदल यात्रु समेतले बोकेको सामानहरु कडाइका साथ निगारानी गरिने गरेको जनाइएको छ । चेकपोष्टमा एसएसबीका जवानका साथै महिला सुरक्षाकर्मीहरुको बटालियन समेत चेकजाँचमा सक्रिय रहेको जनाइएको छ । महिला सुरक्षाकर्मीहरुले महिला यात्रुहरुको चेकजाँच गर्ने गरेका छन् । नेपाल–भारत सीमामा रहेको रक्सौल नाका महत्वपूर्ण व्यापारिक नाका समेत हो ।

केही महिनाअघि भारत अधिनस्थ काश्मिरको उरीमा भएको आतंकवादी हमलामा परेर १८ जना भारतीय सैनिकहरुको ज्यान गएपछि भारत–पाकिस्तानको सम्बन्ध नराम्रोसँग प्रभावित भएको छ । यी दुई देशले एक अर्कालाई युद्धकै धम्की दिइरहेका छन् ।