अन्तर्राष्ट्रिय

महासचिवलाई ओबामाको बधाई

वासिङटन । संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिवमा एन्टोनियो गुटेर्रेस छनौट भएकोमा उनलाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले बधाई दिएका छन्।
राष्ट्रपति ओवामाले गटेर्रेसको कार्यकालमा आफू अमेरिकाले नजिकबाट सहकार्य र सहयोग आदानप्रदान गर्न चाहेको उल्लेख गरेका छन्।
शान्ति स्थापना गर्ने उत्तरदायीत्व, राष्ट्रसङ्घको पुनःसंरचना गरी प्रभावकारीता बढाउनेलगायतका काममा सफलता मिलोस भन्ने कामना पनि ओवामाले गरेका छन्।
पोर्चुगलका पूर्वप्रधानमन्त्रीसमेत रहेका गुटेर्रेसलाई फोन गरेर ओवामाले बधाई दिएका हुन्।
बधाई दिनेक्रममा राष्ट्रपति ओवामाले राष्ट्रसङ्घलाई आधुनिकिकरण र चुस्तदरुस्त बनाउन विषेश जोडसहित सुझाव दिएका छन्।
वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा गुटेर्रेसले आगामी सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्नेछन्।
केहीदिनअघि भएको राष्ट्रसङ्घको महासभामा सम्मिलित १९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि उनी राष्ट्रसङ्घको महासचिवमा औपचारिकरुपमा छानिएका हुन्।
गुटेर्रेसले राष्ट्रसङ्घको मानवअधिकार तथा राष्ट्रसङ्घीय प्रणाली सुधारकार्यमा उल्लेखनीय कार्य गरिसकेका छन्। रासस/एएफपी