राजनीति

यी हुन भोलीको नेपाल र कांग्रेस हाँक्ने झण्डै एक दर्जन युवा नेताहरु !

काठमाण्डौ । नेपाली कांग्रेस मुलुककै सबैभन्दा ठूलो पार्टी हो । यसको गतिविधि र भविष्यसँग सिंगो मुलुकको भविष्य गाँसिएको छ । त्यसले यो दलले लिने नीति, यसमा चलायमान कार्यकर्ता, विश्वदृष्टिकोण लगायतसँग आम नेपालीहरुको भविष्य गाँसिएको छ ।

नेपाली कांग्रेसले भोलीका दिनमा कस्तो रुप लिँदै जाला र यसको नेतृत्वका कस्तो वर्गको हातमा पर्ला, त्यो त भविष्यले नै देखाउला । अहिले भने सो पार्टीभित्र हुर्कदै गरेको युवा नेतृत्वलाई हेर्ने हो भने भविष्यप्रति प्रशस्त आशा गर्न सकिन्छ ।

मुलुकले नै पत्याएका युवा नेताहरु समेत सो पार्टीमा देखिएका छन् । जसले भोलीको नयाँ नेपाल र नेपाली कांग्रेसलाई सही दिशा दिन सक्छन् भन्ने आशा गर्न सकिन्छ । प्रस्तुत छ, यही सेरोफेरोमा रहेर सो पार्टी र त्यसभित्र हुर्कदै गरेको युवा नेतृत्वलाई जोडेर तयार पारिएको संक्षिप्त रिपोर्ट–

गगन थापा 

गगन थापा यसबेला स्वास्थ्यमन्त्री रहेका छन् । वि.स. २०६२/०६३को जनआन्दोलनमा निरकुशंताका विरुद्ध चर्को भाषण गर्दै र सडक आन्दोलनमा होमिएर चर्चा कमाएका गगनकुमार थापा यतिबेला नेपाली कांग्रेसका चर्चित युवा नेताका रुपमा चिनिन्छन् । त्रिचन्द्र क्याम्पसमा पढ्दा नेवि संघको सक्रिय राजनीतिमा लागेका उनी वि।स। २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उक्लिएका थिए ।
नेवि संघको महामन्त्री हुँदै पार्टीको १२ औं महाधिवेशनबाट अत्याधिक मत पाएर केन्द्रीय सदस्य बनेका उनी कांग्रेस भित्रका उदाउँदा युवा नेता हुन । काठमाडौंका स्थायी बासिन्दा उनी हाल सांसद रहेका छन् । पटक–पटक राजद्रोहको मुद्दा लागेर जेल जीवन विताएका गगन विगत एक दशक यतादेखि निरन्तर चर्चामा छन् । कांग्रेसको सिद्धान्तको पुर्नब्याख्या र संगठनको पुर्ननिर्माण प्रस्ताव तयार पारेर पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने अभियान थालेका उनी नेतृत्वका लागि संघर्षमा छन् । प्रभावशाली भाषणकला भएका गगनको सिको गर्ने युवाहरुको जमात ठूलो छ ।
उदय शमसेर राणा
कांग्रेसका संस्थापक सुवर्णसमशेरका नाती उदय शमसेर राणा तरुण दलको नेतृत्व गर्दै स्थापित भएका युवा नेता हुन । ललितपुरका स्थायी बासिन्दा उदय अध्ययनशील र बैचारिक क्षमता भएका युवा नेताका रुपमा चर्चित छन । बैचारिक क्षमताका कारण धेरै युवाहरुले उनलाई नेतृत्व तहमा स्थापित होस भन्ने चाहाना राख्छन् । कांग्रेसलाई समयसापेक्ष परिवर्तन गर्नुपर्छ भनेर विभिन्न लेख तथा बिचारहरु मार्फत आफ्ना अभिब्यक्तिहरु दिदैं आएका उनी पारिवारीक वातावरणबाटै राजनीति तर्फ उन्मुख भएका नेता हुन । दोस्रो संविधानसभा निर्बाचन मार्फत सांसद बनेका उनी कांग्रेसभित्रका उदयमान युवा नेताका रुपमा चिनिन्छन् । नेपाल तरुण दलका अध्यक्ष समेत रहेका राणा कांग्रेसका लोकप्रिय युवा नेताका रुपमा परिचित छन् ।

नैनसिंह महर

कांग्रेस सभापति शेरबहादुर देउवाकै गृहजिल्ला सुदूरपश्चिमको डडेल्धुरामा जन्मिएका महरले कक्षा ८ देखि नै विद्यार्थी राजनीतिक यात्रा सुरु गरेका हुन् ।

आफ्नो राजनीतिक जीवनमा महर इकाई सचिव, इकाई अध्यक्ष र जिल्ला अध्यक्ष हुँदै नेविसंघको केन्द्रिय सदस्य भएका थिए । क्षेत्र र जिल्ला हुदै राजनीति सुरु गर्दै केन्द्रसम्म आइपुगेका महर लेखक र पत्रकार पनि हुन् । महर नेपाल पत्रकार महासंघ डडेल्धुराका संस्थापक सभापति पनि हुन् ।
उनी नेविसंघमा प्रदिप पौडेल अध्यक्ष हुदाँ उपाध्यक्ष थिए । महरले नेविसंघको इतिहाससम्बन्धी पुस्तक पनि लेखेका छन् । उनले लेखेको ‘शिक्षाको चुनौती’ नामक पुस्तकले अन्तर्राष्ट्रिय पुरस्कार समेत जितेको छ । त्रिभुवन विश्वविद्यालयमा एमए र नेपाल ल क्याम्सपसबाट एलएलबि गरेका महर जनआन्दोलनको बेला चार पटक जेल परेका थिए ।

महरले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने, ओपन युनिभर्सिटी, सेमेस्टर र ग्रेडिङ जस्ता प्रणालीको मुद्धाका कुराहरु पहिलो पटक उठाएका थिए । उनले लागु पदार्थरहित शैक्षिक संस्था, देशका सम्पुर्ण प्रान्तमा मेडिकल कलेज र इन्जिनियरिङ शिक्षा, शिक्षामा समानता लगायतका एजेण्डा पनि उठाउँदै आएका छन् ।
राजनीतिमा नैतिकता र इमान्दारिता अनिवार्य ठान्ने महर यसको अभावमा राजनीतिक अस्तित्व नै संकटमा पर्ने मान्यता राख्छन् ।
प्रदिप पौडेल
प्रदिप पौडेलको जन्मथलो तनहुँ हो । माध्यमिक शिक्षाको अध्ययन गर्दाताका नै वि।स। २०४६ सालको जनआन्दोलनमा खटिएर कलिलो उमेरमा हिरासतमा बसेका प्रदिप पौडेल कांग्रेस भित्र रुचाइएका युवा हुन् । ‘कम्यूनिष्टहरुको किल्ला’ मानिएको अमृत साइन्स क्याम्पसबाट स्वूवियू सभापति जितेका प्रदिप चर्को भाषणकला भएका युवा नेता हुन । नेवि संघको १५ औं केन्द्रीय सभापति भइसकेका पौडेल कांग्रेसको राजनीति अब लिगेसीका आधारमा नचल्ने बताउँदै आएका छन् ।
पार्टीको सिद्धान्तलाई समयानुकुल परिवर्तन गर्नुपर्ने अभियानमा लागेका पौडेल सिद्धान्तको पुर्नख्याख्या र पुर्ननिर्माणमा अघि बढ्नुपर्ने धारणा राख्छन् । उनको भाषणकलाबाट प्रभावित युवाहरु प्रदिपलाई पार्टीको नेतृत्व स्तरमा स्थान दिनुपर्ने आवाज उठाउँदै आइरहेका छन् ।

त्यस्तै, कांग्रेसभित्र बालकृष्ण खाँड (रुपन्देही), बिश्वप्रकास शर्मा ( झापा), बद्री पाण्डे-बाजुरा, गोविन्द भट्टराई- तनहुँ, केशव सिहं –डडेल्धुरा, गुरुराज घिमिरे-मोरङ,  महेन्द्र शर्मा- बर्दिया, जन्मजय तिमिल्सिना, प्रतिमा गौतम-काठमाडौं, कल्याण गुरुङ-महोत्तरी, महेन्द्र  यादब (धनुसा),  चन्द्र भण्डारी (गुल्मी),धनराज गुरुगं(स्याग्जा), शंकर भण्डारी (तनहु) लगायतका जोसिला युवा नेतृत्व देखिन्छ, जसको काँधमा भोलिको नेपालको भविष्य जोडिएको छ ।