खेलकुद

खेल मैदानमा फर्किए मेसी, सुरुमै उनको सहयोगमा बार्सिलोनाको जित

एजेन्सी– केही महिनाअघि खेल मैदानमै चोट लागेर उपचार गराइरहेका बार्सिलानाका स्टार लिओनल मेसी फेरि खेल मैदानमा फर्किएका छन् । चोटमुक्त भएर खेल मैदान फर्किए लगत्तै उनको सहयोगमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभोमाथि सहज जित हासिल गर्न सफल भयो ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित डिपोर्टिभोलाई ४-० गोल अन्तरले पराजित गरेको हो । नाउ क्याम्पमा भएको खेलमा मेस्सी तीन हप्तापछि मैदान फर्किएका थिए । बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले क्लबका तर्फबाट चौथो गोल गरे ।
यसअघि खेलमा बार्सिलोनाले २१ औं मिनेटमा राफिन्हाको गोलबाट अग्रता लिएको थियो । ३६ औं मिनेटमा उनले नै अग्रता दोब्बर पारे भने ४३ औं मिनेटमा लुइस स्वरेजले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३-० ले अगाडि रह्यो ।

दोस्रो हाफको ५५ औं मिनेटमा मेस्सीले बुस्केटको स्थानमा मैदान प्रवेश गरे । उनले तीन मिनेटपछि नै गोल गरे ।
खेलको ६५ औं मिनेटमा डिपोर्टिभो १० खेलाडीमा सिमित भयो । तर, बार्सिलोनाले थप गोल भने गर्न सकेन ।