पु.समाचार

मापसे र जुवातासविरुद्ध अभियान शुरु

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका क्षेत्रमा लागुपदार्थ दुव्र्यसन र जुवातासविरुद्धको सामाजिक जागरण अभियान सुरु भएको छ।दसैंका अवसरमा नगरका बस्ती बस्तीमा गठित टोलसुधार संस्थाको अगुवाइमा लागुपदार्थ दुव्र्यसन, मादक पदार्थ सेवन र जुवातासविरुद्ध सामाजिक जागरण अभियान सुरु भएको हो। नौरथा लागेसँगै सुरु गरिएको सो अभियानका क्रममा नगरका प्रत्येक बस्तीका घर घरमा सोविरुद्ध सजग गराइएको छ ।

प्रत्येक वर्ष दसैँ, तिहार सहितका राष्ट्रिय पर्वका बेला घरमूली र युवा उमेरका छोरा जाँड, रक्सी र जुवातासमा रमाउने तथा आपूmहरुले घरको बुहार्तन खेप्नुपर्ने भएपछि यस पालि दसैँ लागेसँगै घर घरमा यसका विरुद्ध सामाजिक जागरण अभियान सुरु गरिएको टोल सुधार समितिमा आबद्ध महिलाको भनाइ छ ।
दिनदिनै लागुपदार्थ दुव्र्यसन, मापसे र जुवातासविरुद्ध नारा घन्काउँदै सयौैँको सङ्ख्यामा महिला निस्कन थालेपछि बर्दिवास क्षेत्रका चोक चोकमा अचेल अल्लारिएर रातिसम्म हराउने छोरा घरकै काम व्यवहारमा सहयोगी बन्न थालेको अन्तरपार्टी महिला सञ्जाल बर्दिवासका अध्यक्ष शारदा थापाले बताईन्।

“हाम्रो ठाउँ लागुपदार्थ दुव्र्यसन र ओसारपसारका लागि बदनाम रहँदै आएको थियो”, थापाले जागरण अभियानकै क्रममा सञ्चारकर्मीसँग भनिन्, “यस पालि दसैं सुरु भएसँगै इप्रका बर्दिवास र बर्दिवास नपाको समन्वयमा दिनदिनै जागरण अभियान सुरु गरिएपछि जाँडरक्सी खाएर सडकमा रल्लिने र जुवातास एवम् लागुपदार्थ दुव्र्यसनीका अखडा देखिन छाडेका छन् ।”

बर्दिवास नगरमै दिउँसै चोरीका घटना बढ्न थालेपछि त्यसलाई पहिल्याउँदै जाँदा यस्ता घटनामा लागुपदार्थका दुव्र्यसनी युवा र हारेका जुवाडे रहेको पत्ता लागेपछि यी कुलतलाई निरुत्साहन गर्न समुदायलाई सङ्गठित गर्ने अभियान थालिएको इप्रका बर्दिवासले जनाएको छ । पछिल्लो १० दिनयता नगरक्षेत्रमा गठित टोलसुधार समितिलाई अग्रसर गराएर नौरथासँगैको सुरु गरिएको अभियान र प्रहरी गस्ती बढाइएपछि टोल बस्तीमा ट्यापे, मुन्दे्र र कुन्डलेमुन्डले देखिन छाडेको इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताए ।

नगर बस्तीमा सरसफाइ, साक्षरता र स्वास्थ्य सचेतना बढाउँदै सामाजिक विकृतिविरुद्ध समुदायलाई अग्रसर गराउने उद्देश्यले बर्दिवास नपा कार्यालय र इप्रका बर्दिवासको पहलकदमीमा नगरक्षेत्रमा अहिलेसम्म ५७ टोलसुधार समिति गठन भइसकेका छन् । पहिले महिलाले सुरु गरेको सो अभियानमा अहिले राजनीतिक दल, सामाजिक सङ्घसंस्था र नागरिक समाजका प्रतिनिधि साथ लागेपछि नगरका सबै वडा बस्तीमा टोलसुधार समिति गठनको समेत अभियान चलेको बर्दिवास नपाका कार्यकारी अधिकृत रामकुमार कार्की बताउँछन्।

बर्दिवासमा चाडपर्वसँगै थालिएको यो अभियानले आफ्ना कुलतमा लागेका परिवारका मानिस घरमै बसेर काममा सघाउन थालेपछि बर्सौैँदेखि पारिवारिक बुहार्तन खेप्दै आएका महिलाले राहत महसुस गरेका छन् । रासस