कृषि

पहिले खसीबोका किन्नेहरु  अहिले बेच्न थाले 

काठमाण्डौ । गत वर्षमा उत्तरी धादिङको मूलपानी गाविसवासी सात सयभन्दा बढी खसीबोका खरिद गर्थे ।

मोटो रकम दसैँको खसीबोका किन्दा बाहिर जान्थ्यो । पैसा मात्र बाहिर जाँदैन थियो गाउँमा गरिबपना पनि बढ्दै गएको थियो । एक वर्षभन्दा पहिलेदेखि गाउँवासीले सबैले पशुपालनलाई व्यावसायिक रुपमा सुरु गरेपछि यस वर्षदेखि दसैँमा ठूलो मात्रामा खसीबोका बिक्री भएको गाविसका पूर्वअध्यक्ष शम्भु थापाले बताए ।

दसैँका बेलामा खसी किनेर दसैँ मनाउने मूलपानीकी हेमकुमारी रिजालले यस वर्ष पाँच खसी बिक्री गर्नुभयो । दसैँ मान्दा ऋण लागेर बर्सेनि साहुका घरमा जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

गाउँमा खसी ल्याएर बिक्री गर्नुपर्ने अवस्था रहेको मूलपानीमा यस वर्ष आफैँले गाउँमा उत्पादन भएको खसीबोका काठमाडौंसम्म लगेर बिक्री गरेको कृष्णबहादुर थापाले बताए । हेफ नामक अन्तर्राष्ट्रिय संस्थाले सहयात्री समाज नामक गैरसरकारी संस्थामार्फत सबै घरमा पशुपालनका लागि सहयोग गर्दै व्यावसायिक क्षेत्र बनाउने घोषणापछि गाउँमा उत्पादन बढेको हो । यस वर्ष ४०० भन्दा बढी खसीबोका बिक्री भएको र अर्को वर्ष अझ धेरै बिक्री गर्ने र गाउँलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको उनको भनाइ छ ।

कृषकलाई घाँस लगाउन प्रोत्साहन गर्दै बाख्रापालनमा जोड दिइएको र सबै उत्पादनमा लागेकाले गाविस व्यावसायिक बन्दै गएको सहयात्री समाजकी अम्बिका रुपाखेती बताउँछन् । ग्रीनगोट जातको बाख्रा यस क्षेत्रमा राम्रो भएकाले व्यावसायिक रुपमा अघि बढाउन कृषि विकास कार्यालयले समेत प्राविधिक रुपमा सहयोग उपलब्ध गराएको थापाले जानकारी दिए ।