अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच तनाव बढिरहेका बेला चीनले दियो भारतलाई ठूलो झड्का

एजेन्सी– भारतले पाकिस्तानसँग पौंठेजोरी खेलिरहेका बेला चीनले भारतविरुद्ध एक्कासि एउटा नयाँ कदम चालेको छ । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतबाट बगिरहेको ठूलो नदी ब्रम्हपुत्रको एक सहायक नदी भारततर्फ जानबाट रोकिदिएको हो ।

चीनले ब्रम्हपुत्रमा एउटा ठूलो हाइड्रोपावर निर्माण गरिरहेको छ । चीनको यो कदमले भारतलाई निकै समस्या पर्ने भन्दै भारतीय सञ्चारमाध्यामहरुले चिनियाँ सरकारी न्युज एजेन्सी सिन्हवालाई उदृत गर्दै समाचार प्रशारण गरिरहेका छन् ।

चीनको यो कदमबाट भारतका असाम, सिक्किम र अरुणाञ्चल प्रदेशमा समेत पानी आपूर्तिमा ठूलो संकट आउने बताइएको छ । चीनले निर्माण गरिरहेको यो हाइड्रोपावर ७ हजार ४ सय करोड डलरको लागतमा निर्माण भैरहेको बताइएको छ ।

भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला चीन ले चालेको यो कदमलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । युद्धको तयारीसँगै भारत र पाकिस्तानबीच अर्को एउटा मुद्धा उठिरहेको छ, त्यो सिन्धु जल सम्झौतको मुद्धा ।

पाकिस्तान, चीन, अफगानिस्तान हुँदै बग्ने सिन्धु नदीसँग ५६ वर्षअघि भएको सम्झौताका विषयमा समेत कुरा उठिरहेका बेला चीनले ब्रम्हपुत्रको सहायक नदी भारततर्फ जानबाट रोकेको जनाइएको छ । यद्यपि, चीनले कुनचाहि सहायक नदी रोक्यो भन्ने नाम भने खुलाइएको छैन ।

सिन्धु जल सम्झौताको खारेजी हुनुपर्ने माग उठिरहेको बेला चीनले भारतविरुद्ध यो कदम चाल्नु पाकिस्तानका लागि चीनले रणनैतिक रुपमा सहयोग गरिरहेको पुष्टि भएको भन्दै सञ्चारमाध्याहरुले समाचार प्रसारण गरिरहेका छन् ।