पु.समाचार

औषधी विभागकै कर्मचारीको यो चर्तिकला भएपछि, सर्वसाधारणले अब के गर्ने ?

काठमाण्डौ । लागूऔषध कारोबारमा औषधि व्यवस्था विभागका कर्मचारीको संलग्नता रहेको तथ्य फेला परेपछि यस विषयमा नयाँ बहस सुरु भएको छ । लागूऔषध नियन्त्रण ब्युरोले बुधबार बिजुलीबजारस्थित विभागको कार्यालयभित्र स्टिलको दराजबाट २२ ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने तराजु बरामद गरेको थियो । यसअघि लागूऔषधको कच्चा पदार्थ स्युडो आयातमा विभागका कर्मचारीकै संलग्नता रहेको पाइएको थियो ।

लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख डीआईजी जयबहादुर चन्दका अनुसार विभागको दर्ता शाखामा कार्यरत ३२ वर्षीय सुनिल गुप्ताले हेरोइन बिक्री वितरणका लागि विभागलाई भण्डार केन्द्रका रूपमा प्रयोग गर्दै आएका थिए। गुप्ता पानस फर्मास्युटिकल्ससँग पनि सम्बद्ध छन् ।

गत मङ्गलबार जयबागेश्वरीबाट सात ग्राम खैरो हेरोइनसहित पक्राउ परेका २७ वर्षीय सूर्य संगतको बयानका आधारमा ब्युरो प्रहरीले बुधबार गुप्तालाई ५।५ ग्राम हेरोइनसहित तिलगङ्गाबाट पक्राउ गरेको थियो ।

नेपालगञ्ज स्थायी घर भएका गुप्ताले विभागका कर्मचारीको आवरणमा लागूऔषध आयात गरी नेपालगञ्ज र काठमाडौँमा बिक्री वितरण गर्ने गरेको प्रहरीको अनुमान छ । गुप्ताले नै संगतलाई एजेन्टका रूपमा नियुक्त गरी बिक्रीका लागि हेरोइन दिने गरेका थिए ।

तर, संगत पक्राउ परेपछि संगतकै बयानका आधारमा प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो । उनको नियन्त्रणपछि विभागमा रहेको पानस फर्मास्युटिकल्सको दराजभित्र लुकाइराखेको अवस्थामा २२ ग्राम हेरोइन र डिजिटल तराजु बरामद भएको हो ।

“यो घटनाले लागूऔषध नियन्त्रणका विषयमा नयाँ बहस प्रारम्भ गरेको छ । नियमन निकायका केही कर्मचारी नै यस्तो अवैध काम गर्छन् भने नियन्त्रण कसरी हुन्छ ?  नयाँ ढङ्गले सोच्नुपर्ने अवस्था आएको छ,” ब्युरो प्रमुख चन्दले भने।

ब्युरो प्रहरीले विभागका कर्मचारी गुप्तासँगै उनका एजेन्ट संगत, गुप्तासँग हेरोइन खरिद गर्न नेपालगञ्जबाट काठमाडौँ आएका प्रकाश जोशी, सद्दाम अन्सारी र वीरेन्द्र सिंह पनि गौशालास्थित साउथ एसिया गेस्ट हाउसबाट नौ ग्राम हेरोइन र ६४ हजार नगदसहित पक्राउ परेका छन् ।

उनीहरूले सो लागूऔषध गुप्ताबाट खरिद गरेको बयान प्रहरीलाई दिएका हुन् । पक्राउ अभियुक्त पाँच जनाको साथबाट एकमुष्ट ४३।३ ग्राम हेरोइन र ६८ हजार नगद बरामद भएको ब्युरोले जनाएको छ ।

यसअघि सङ्घाई समूहद्वारा सञ्चालित आर्य फर्माका लागि आवश्यकताभन्दा बढी कच्चा पदार्थ स्युडो निर्यातमा विभागकै कर्मचारीको प्रत्यक्ष संलग्नता रहेको पाइएको थियो । लागूऔषध एम्फेटामाइन बनाउन प्रयोग हुने स्युडो आर्य फर्माले अवैध रूपमा विदेशमा बिक्री वितरण गर्ने गरेको थियो ।

सोही मुद्दामा रतन सङ्घाईसहित पाँच जनालाई ब्युरो प्रहरीले यसअघि नै नियन्त्रणमा लिइसकेको छ भने पवन सङ्घाई फरार छन् । सो घटनामा विभागकै कर्मचारीको मिलिमतो रहेको स्वयं विभागले नै स्वीकारेको हो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले लागूऔषध घटनामा कर्मचारी मुछिनुका पछाडि विभागको कमजोरी भएको स्वीकारे। उनले भने– अनुगमन गर्न सकिएन, यसमा त्रुटि भयो भन्दै शुक्रबारको गोराखापत्र दैनिकमा समाचार प्रकाशित गरिएको छ ।