समाचार

सहारा क्लबले बनायो गोरखामा स्कुल

पोखरा । भूकम्पमा ढलेको गोरखाको घैरूङस्थित ज्यामिरश्वाँराको गणेश प्राथमिक बिद्यालय भवन सहारा क्लवले निर्माण गरिदिएको छ।

सहारा क्लव पोखराको संयोजनमा बेलायतका विभिन्न संघ संस्थाले भवन निर्माण गरिदिएका हुन्। भवनको बुधबार एक कार्यक्रम बीच अरूण चौधरी फाउण्डेशनका अध्यक्ष तथा सिजी ग्रुपका निर्देशक अरुण कुमार चौधरीले उद्घाटन गरे।
भवन उद्घाटन पछि बोल्दै चौधरीले विद्यालयमा गरिएको सहयोगले शिक्षा क्षेत्रलाई महत्वपूर्ण योगदान पुग्ने विश्वास ब्यक्त गरे। उनले ब्यवसायसँगै सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै सामाजिक संस्थाको उदाहरणीय काम भएको बताए।

धेरै ठाउँमा हामीले सहयोग गरेका छौं, उनले भने–तर अन्य क्षेत्रमा गरेको सहयोग सदुपयोग भएको थिएन, म यो ठाउँमा आएर थाहा पाएँ अन्य ठाउँमा गएको सहयोग ब्यर्थ गएको रहेछ। समाजबाट कमाएको सम्पत्ति सामाजिक क्षेत्रमै लगानी गर्न नसके कमाउनुको अर्थ नरहेको उनले बताए। मलाई यो ठाउँले ठूलो गुन लगाएको छ, केही भाबुक मुद्रामा देखिएका चौधरीले भने–यो ठाउँको गुन तिर्न फेरि फर्किनेछु ।

सहारा क्वल पोखराका अध्यक्ष बीरभद्र आचार्यले भौतिक संरचना निर्माण सम्पन्न भएकाले अब शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरे । सरकारी विद्यालयमा पछिल्लो समय गुणस्तरीय शिक्षा नभएको भन्दै उनले क्लवले गरेको लगानी संरक्षणका लागि सुझाए । हामी कुनै एनजिओ, आईएनजिओ होईनौं, उनले भने–सामाजिक क्लवले समाजमा गरेको लगानी संरक्षण गर्ने दायित्व स्थानीयको पनि हो, यसलाई जोगाउनुहोला । उनले विद्यालय निर्माणमा सहयोग गर्ने सहारा युके लगाएत सबैलाई धन्यबाद दिए ।

सहारा क्लव युकेका अध्यक्ष दीलिप कुमार गुरुङले आगामी दिनमा पनि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाए । भवन निर्माणका लागि सहारा युके, अल्डरसट एफसी युके, चेल्सी क्लव, अरुण चौधरी फाउण्डेसन, सिराज होम्स, वकिङ एसिया बिजनेस फोरम, वर्नइण्ड रोटरी क्लव, लिण्डेण्ड हाउस लगाएतको आर्थिक सहयोग छ ।

अत्याधुनिक प्रविधिको भूकम्प प्रतिरोधी ८ कोठे भवन निर्माण गरिएको सहारा युकेका भूकम्प पीडित पुनःस्थापनाका संयोजक मीन बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार करिब ३५ लाखको लागतमा भवन निर्माण गरिएको हो । यसबाहेक विद्यालयमा आधुनिक किसीमका फर्निचर ब्यवस्था गरिएको छ भने विद्यालयलाई तारबार सहित घेरिएको छ ।

भौतिक संरचना पूरा भएकाले शैक्षिक गुणस्तर बृद्धी गरी नमूना विद्यालयको रुपमा स्थापित गर्ने विद्यालयका प्रधानध्यापक गुन बहादुर थापाले प्रतिबद्धता जनाएका छन् । २०४६ सालमा स्थापना भएको विद्यालयमा हाल ६० बढी विद्यार्थी छन् । नयाँ भवन निर्माण भएपछि विद्यार्थी थपिन थालेका थापाले जानकारी दिए । भूकम्पअघि १ सय भन्दा बढी विद्यार्थी भएपनि भूकम्पले बिद्यालय सहित गाउँ नै तहस नहस भएपछि गाउँलेहरु शहर पसेका उनले बताए ।
सहारा क्लवले सहयोगी हातहरुसँग समन्वय गरेर विभिन्न सामाजिक काम गर्दै आईरहेको छ । क्लवले एकेडेमी नै स्थापना गरी कठिन परिस्थीतिका बालकहरुलाई आश्रय र शिक्षा दिक्षाको ब्यवस्था मिलाएको छ । क्लवले सञ्चालन गरेको एकेडेमीमा हाल १६ जिल्लाका २६ बालबालिकाहरु आश्रित छन् ।