कुराकानी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

–जन्मजय तिमिल्सिना, नेता तरुण दल 
विगत १३ वर्षदेखि तरुण दलको केन्द्रीय सदस्य, पदाधिकारी हुँदै कार्यबाहक अध्यक्षसमेत भएर कुशल नेतृत्व गरेका नेपाली कांग्रेसको महत्वपूर्ण भातृसंगठन नेपाल तरुण दलका प्रभावशाली नेता हुन् जन्मजय तिमिल्सिना । तिमिल्सिना नेपाल तरुण दलको प्रभावशाली नेता मात्र होइनन्, कांग्रेस सभापति शेरबहादु देउवा, कांग्रेस केन्द्रीय सदस्य र रक्षामन्त्री समेत रहेका तरुण दलमा युवाहरुका ढुक्ढुकीका रुपमा चिनिने बालकृष्ण खाँड, तरुण दलका वर्तमान अध्यक्ष उदयशमशेर राणा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादवले विश्वास गरेका व्यक्तित्व पनि हुन्, केन्द्रीय सदस्यहरु शंकर भण्डारी, भीष्मराज आँगदाँग्वेसँग समेत नजिक भएर काम गरेका छन् तिमिल्सिनाले  । तिमिल्सिनाले आगामी कार्तिक २७ गतेदेखि पोखरामा सुरु हुने नेपाल तरुण दलको चौथो महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्धारी दिने घोषणा गरिसकेका छन् । प्रस्तुत छ, उनै तिमिल्सिनासँग सुर्यखबर डट कमका प्रतिनिधिले तरुण दलको आगामी महाधिवेशनको सेरोफेरोमा केन्द्रीत रहेर लिइएको अन्तरवार्ताको सम्पादित अंश :

तरुण दलको महाधिवेशन पटक पटक सरिरहेको छ नि ?
–तरुण दलको महाधिवेशन निकै समयदेखि हुन सकेको थिएन । यो पटक हुने आशामा सबै थियौं तर अपर्झट सर्न पुग्यो । यो अधिवेशन सर्नु हुँदैनथ्यो भन्ने मेरो मान्यता हो, अब कार्तिक २७ गतेदेखि पोखरामा हुने भनिएको छ, कुनैपनि हालतमा तरुण दलको महाधिवेसन उक्त समयमा हुनुपर्छ, हुन्छ । यसअघि महेन्द्र यादव हुँदा पनि हामीले अधिवेशन गर्ने प्रयास गरेका थियौं । पटक पटक प्रयास गर्दापनि अधिवेसन हुन सकेन । पार्टीले हामीलाई पटक–पटक म्यान्डेट दिएपनि तरुण दलको महाअधिवेशन हुन सकिरहेको छैन । अहिले उदयशमशेर हुँदा पनि तेश्रो पटकसम्म अधिवेशन सरेको छ । यसमाचाहि पार्टी दोषी छ । यो पार्टीकै निर्देशनमा सारिएको हो । हिजोका दिनमा संगठनको अधिवेशन हुन्छ कि हुँदैन भन्ने हुन्थ्यो तर यो पटक भने मितिनै तोकिएको हुनाले हामीलाई विश्वास छ, यो पटक अधिवेशन हुन्छ नै । तराई–मधेस, पहाड लगायतका स्थानमा साथीहरुले मतदान प्रक्रियालाई सकिसकेका छन् ।

के यो पटकचाहि अधिवेशन हुन्छ भन्नेमा ढुक्क हुने त ?
–अधिवेशन तोकिएकै मितिमा हुन्छ । हामी युवाहरुलाई शक्तिशाली बनाउन चाहान्छौ । हामी ११ वर्षपछि तरुण दलको महाधिवेशन गर्दैछौँ । त्यसकारण पनि यो संगठनको अधिवेशन समयमै गर्न जरुरी छ । यदि समयमै अधिवेशन गर्न सकिएन भने भोली मूल पार्टीमा समेत प्रभाव पर्ने निश्चित छ । त्यतिमात्र होइन, नजिकै आउँदै गरेको स्थानीय निर्वाचनमा समेत कांग्रेसलाई घाटा हुन्छ । त्यसकारण पनि अहिले तोकिएको अधिवेशन जसरी पनि हुन्छ । नेबिसँघ, महिला सँघको अधिवेसन भएको तपाईले देख्नुभएकै छ, तरुण दल र काँग्रेसका अन्य भातृसँगठनकाने अधिवेसन पनि हुन्छ ।

तपाई वर्तमान कार्यसमितिको सदस्य पनि हुनुहुन्छ, कांग्रेसभित्र नेविसंघ, महिला संघ लगायतका भातृसंगठनहरुमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले चुनाव लड्ने अवसर पाएनन्, के तरुण दलमाचाहि कार्यसमिति तथा पदाधिकारीहरुलाई चुनाव लड्ने अवसर खुल्ला होला त ?
–नेपाली कांग्रेसभित्र तरुण दलको नेतृत्व अरु भातृसंगठनभन्दा फरक छ । यो संगठनभित्र लोकतान्त्रिक पद्धतिको विकास गर्न जरुरी छ । महामानव विपि कोइरालाले स्थापना गरेको यो मान्यतालाई तैपनि हामीले अझै स्थापित गर्न सकेका छैनौ । बेला–बेलामा यो संगठनभित्र तानाशाह लगायतका नकारात्मक प्रवृतिहरुमार्फत प्रहार हुने काम भैरहेको छ । यही मान्यता र संगठनको विधि र विधानबाट निर्देशित भएर हामीले निर्वाचन लड्नुपर्ने हुन्छ । यसमा कुशल संगठनका लागी कार्यसमिति बाहिर र भित्रका साथीहरुको समेत मिश्रण हुन जरुरी छ । उदाहरणका लागि अहिले नेतृत्वमा रहनुभएको उदयशम्शेर बाहिर र भित्रका तरुण दलका साथीहरुलाई राम्रो प्रभाव पार्न सक्ने नेताका रुपमा परिचित हुनुहुन्छ ।

तर कता–कता केही मिलिरहेको छैन, जस्तो भान मलाई पनि भईरहेको छ । वास्तवमा भन्नुपर्दा कांग्रेभित्रको देशका कुना–कुनामा गएर संगठन गर्ने शक्तिशाली संगठन नै तरुण दल हो । यो संगठनको अधिवेशन पटक–पटक सार्दा नकारात्मक प्रभाव परिरहेको छ । बेला–बेलामा अधिवेशन गरिरहेको भए अझ राम्रो हुन्थ्यो । पार्टीले पनि एउटै संगठनमा दुई किसिमको नियम लागू गर्नुहुँदैन । यसले गर्दा हामीजस्तो लामो समय संगठन र पार्टीमा खट्ने कार्यकर्ताहरुलाई असर परिरहेको छ । यो महाधिवेशनमा बाहिर र भित्रको टिम मिलाएर निर्वाचन गर्नुपछ, भन्ने मेरो मान्यता छ ।

तरुण दलको भूमिका पार्टीभित्रचाहि खासै देखिएन भन्ने आरोप लाग्ने गरेको छ नि ?
यो सारै महत्वपूर्ण प्रश्न हो । तरुण दलको भूमिका पार्टीभित्र किन हुन सकेन त ? हामी केही दिनअघि मात्रै एउटा जिल्लामा जिल्ला अधिवेशन गर्न पुगेका थियौं । यहाँ जिल्लाको नाम उल्लेख गरिनहालौ । तर त्यो जिल्ला अधिवेशन तुरुन्त रोक्नुस् भने पार्टीले निर्देशन दियो । पार्टीले पनि यस्ता खालका हस्तक्षेप रोक्नुपर्छ । पार्टीले जथाभावी निर्देशन दिन थालेपछि संगठन क्रियाशील हुन कठिन हुन्छ । संगठननै शक्तिशाली नभएपछि कसरी पार्टीभित्र भूमिका निर्वाह गर्न सक्छ त ? कसरी विपिको विचारलाई संगठित गर्न सकिन्छ त ? यहा प्रश्नचिन्ह खडा हुन्छ ।
यदाकदा तरुण दलको अधिवेशन रोक्नुपर्छ भन्ने आवाज पार्टीकै वरिष्ठ नेता रामचन्द्र पौडेलले उठाइरहनुभएको छ । रामचन्द्र दाइकै संगठनभित्रि १५–१६ जना साथीहरु नेतृत्व तहमा नेतृत्व गरिरहनुभएको छ । उहाँले नै आफ्नो पार्टीको भातृसंगठनलाई पूर्वाग्रही ढंगले हेर्नुहुन्छ भने कसरी पार्टीभित्र र बाहिर लोकतन्त्रको रक्षा गर्न सकिन्छ ? यो संगठनभित्र शेरबहादुर दाईका मात्र साथीहरु हुनुहुन्न नि, यहाँ थुप्रै साथीहरु हुनुहुन्छ । ती साथीहरुको भावनालाई पनि समेट्नुपर्छ । तरुण दलको गतिविधि नबढ्नुको कारण पार्टीभित्रकै गुटगत स्वार्थ हो भन्ने पनि हामीले बुझ्न जरुरी छ । अब संगठन बुझेको साथी नेतृत्वमा आउनुपर्छ । यसले पार्टीको कामलाई सहयोग पु¥याउन सहयोग गर्छ । तरुण दल थप बैचारिक सँगठनको रुपमा बिकास हुन जरुरी छ ।

तरुण दलभित्र संगठनभित्र नेतृत्वमा पुग्न चाकडी, पैसा र गुन्डा प्रबृति बोलवाला छ भन्ने आरोप समेत लागिरहेका छन्, यसबारेमा के भन्नुहुन्छ ?
–धेरै साथीहरुबाट यो खालका अभिव्यक्तिहरु आएका छन् र बाहिर पनि यस्तो खाले बहसहरु सुन्न सकिन्छ । यो संगठन धेरै किसिमका व्यक्तिहरुले निर्माण भएको संगठन हो । यसमा मधेस, पहाड, हिमाल सबै ठाउँका साथीहरु आबद्ध हुनुहुन्छ । संगठनमा ती साथीहरु क्रियाशील हुनुहुन्छ । यो लोकतान्त्रिक संगठन भएकोले यसमा नयाँ चरित्र निर्माण ध्यान दिन आवश्यक छ । संगठनभित्र लोकतान्त्रिक चरित्र निर्माण गर्न सकिएन भने त्यसको अर्थ छैन । यसअघि पनि तरुण दलले यो खालका चरित्रहरु निर्माण गर्दै आएको देखिन्छ । एउटा राम्रो संस्कारबाट आएको मान्छे कहिल्यै पनि दास बन्न चाहँदैन । लोकतान्त्रिक चरित्र निर्माण गर्न तरुण दलभित्र अब सबै साथीहरु एकजुट हुनुपर्छ ।

तरुण दलका कतिपय जिल्लामा विवादका कारण अधिवेशन भएका छैनन् नि ?
–हो यस्ता आरोपहरु लागेका छन्, तर ती सबै सत्य पनि होइनन् । उदाहरणका लागि सुर्खेत जिल्लाको नेतृत्वमा त्यहाँ ह्रदयराम थानी नेता हुनुहुन्छ, वहा केन्द्रीय नेतृत्व र मन्त्री समेत हुनुहुन्छ, तर त्यहाँ निर्वाचननै स्थगित भयो । जिल्लाको नेतृत्वले सन्तुलित कुरा गर्ला तर पार्टीले नै निर्वाचन रोक्नुचाहि राम्रो कुरा होइन । हामी वीपीका अनुयायीहरुले यो तरिकाले काम गर्न सुहाउँदैन । भातृसंगठनहरुलाई स्वतन्त्र रुपमा पार्टीले छाड्नुपर्छ । भातृसंगठनले यताउती ग¥योकि पार्टीले विघटन गरिदिन्छु भन्यो भने त भएन नि । भातृसंगठनका काममा पार्टीले सिधै हस्तक्षेप गर्नुभएन । कतिपय जिल्लाहरुमा अधिवेशननै भएको छैन । केही जिल्लामा अनावश्यक ढंगले रोकिएको छ । यो राम्रो होइन ।
हामी सुन्दैछौंकि कातिक २७ गतेबाट तोकिएको संगठनको केन्द्रीय अधिवेशन रोक्न पौडेल पक्षले जोड दिइरहेको छ, यो जसरी पनि रोक्नुपर्छ भन्नेमा उक्त पक्ष लागीरहेको सुन्नमा आएको छ, रोक्न सकिएन भने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल आफैं विरामी भएको बहानामा विदेश जाने र अधिवेशन रोक्ने खेलको रचना हुदैछ भन्ने मैले सुनेको छु । यो तरिकाले त संगठनले गति लिदैन नि । उहाँहरुमा अधिवेशनमा भाग लिने मानसिकता नै छैन भने त्यो हुन सक्दैन । उदयशम्शेर दाइको नेतृत्वमा विवाद समाधान समिति बनेको छ । त्यो समितिले बैठक बोलाउँदा समेत छलफल हुन सक्दैन भने कसरी अधिवेशन हुन्छ त ? जिल्लाबाट खारिएर आएका साथीहरुले त यो खालको रबैया गर्नेहरुलाई छाड्दैन नि ।

प्रत्येक जिल्ला अधिवेशनहरु धाँदली भयो भनेर अर्को पक्षले आरोप लगाइरहेको छ नि, यसबारेमा के भन्नुहुन्छ ?
–यसमा म पूर्ण रुपमा सहमत छु । यहाँ निकै लामो समयदेखि काम गर्ने साथीहरुको टिम छ । त्यसले नेतृत्व हत्याउँछ भन्ने विपक्षी साथीहरुलाई डर छ । म आफ्नो विचार समुह छाडेर अर्को विचार समुहमा त जान्न नि । म पार्टी नेतृत्वमा रहने शेरबहादुर, रामचन्द्र दाइहरु लगायत सबैलाई आदरसाथ मान्छु । यो संगठनमा उदयशम्शेर राणाले कमजोरी गरेका छन् भने पनि हामीले जस–अपजस लिनदिन तयार हुनुपर्छ । यद्यपि, अध्यक्ष राणाले कमजोरी गर्नुभएको छ भन्ने मलाई लाग्दैन । मेरो विचारमा अहिले लोकतान्त्रिक तरुण निर्माणमा हामी सबै जुट्नुपर्छ । झिनामसिना कुराका पछि नलागेर तरुण दलको आगामी महाधिवेसन सम्पन्न गर्नुपर्छ ।

तपाईले पनि अध्यक्षमा लड्ने घोषणा गर्नुभएको छ, देशभरका तरुण साथीहरुलाई समेट्न कस्तो योजना ल्याउनुभएको छ ?
–यो महत्वपूर्ण अत्यन्तै विषय हो । यो प्रश्न गर्नुभएकोमा धन्यवाद । सर्वप्रथम त यसका लागि हामी सुरुदेखिनै चलायमान हुनुपथ्र्यो, त्यो हुन सकेन । तरुण दलको स्थापनादेखि नै चलायमान हुन सकेको भए हामीले देशभरका तरुणका लागि निकै धेरै काम गरिसकेका हुन्थ्यौं । नेपालको राजनीतिक इतिहासमा निकै धेरै द्वन्द्वहरु भए, निर्वाचन भए, पार्टी निर्वाचनहरु भए, जातीय, क्षेत्रीय द्वन्द्वदेखि पछिल्लो वर्ष भारतीय नाकाबन्दी समेत देशले खेप्नुप¥यो । यी कारणले गर्दा तरुण दलका सिर्जनात्मक क्रियाकलापमा नकारात्मक प्रभाव परेको छ । अहिले पनि यो संगठनभित्र बौद्धिक मानिसहरु प्रवेश गर्ने क्रम जारी छ ।

संगठनको विश्वास भएर उनीहरु प्रवेश गरिरहेका छन् । संगठनभित्र महिला, जनजाती, मधेसीहरुलाई समावेशी ढंगले उपयुक्त जिम्मेवारी दिने काम सुरु भएको छ । हरेक क्षेत्रमा क्षमता देखाउन सक्ने महिलाहरु आएका छन् । संगठन बुझेका साथीहरु आइरहनुभएको छ । मेरो योजनाचाहि संगठनलाई कुशल र चरित्रवान बनाउने छ । मेरो विचारमा अहिले मुलुक हाँक्ने युवा शक्ति बाहिर गएको छ । उसको रेमिट्यान्सले देश चलिरहेको छ । योचाहि अस्थायी हो जस्तो लाग्छ । रेमिन्ट्यान्सले परिवार र समाजलाई व्यवस्थापन गर्न त सक्ला तर राज्यलाई व्यवस्थापन गर्न सक्दैन । यो अस्थायी प्रक्रिया हो । यसले दिर्घकालीन तयारी होइन, अल्पकालीन व्यवस्थापन मात्र गर्छ । यसमा राज्यले तयारी गर्नुपर्छ, यो अभियानमा मेरो महत्वपूर्ण साथ रहनेछ ।

janma-2
म आफै पनि बर्दियाबाट उठेको किसानको छोरा हो । यहाँसम्म पार्टीले ल्याएको हो । यसमा म आफैलाई गर्व छ । संगठनलाई अघि बढाउन सर्वप्रथम त अघि भनेजस्तै विदेशमा रहने युवाहरुलाई समेत आकर्षण गर्ने खालका कार्यक्रम तय गरिनुपर्छ । सहकारीकरण,पर्यटन लगायतका आर्थिक क्षेत्रहरुसँग जोडेर तरुण संगठनका कार्यक्रमहरु तय गरिनुपर्छ । हामीले काठमाण्डौका लागी मात्र योजना बनाएर हुँदैन, डोल्पा र हुम्लाका युवाका लागि समेत योजनाहरु निर्माण गर्नुपर्छ । तरुण दलमा जो आवद्ध हुनुहुन्छ, उहाँहरुको क्षमता विकास गर्ने उद्धेश्यका साथ काम गर्ने मेरो उमेर्दवारी हो । यसकारण पनि मलाई पार्टीले जिम्मेवारी दिन्छ भन्ने विश्वास लागेको छ ।

तरुण दल बलियो भयो भने पार्टीलाई नै चूनौती दिनसक्छ भनेर पार्टीले यसलाई कमजोर बनाएको भन्ने हल्ला छ नि ? यो कुराचाहि वास्तवमा के हो ?
–पार्टी नेताहरुले त्यो सोचेका छन् भने यो कमजोर मानसिकता हो । वीपी कोइरालाको बाटोमा हिँड्ने हो भने त्यो सुहाउँदैन आखिर तरुण दलको सदस्यनै भोली पार्टी नेता बनेर जाने न हो । तरुण दल कमजोर भएको भए बालकृष्ण खाँड त्यो स्तरमा पुग्नुहुन्थ्यो नि । नेपाली कांग्रेसले नेतृत्वलाई सक्षम बनाउँछ भन्ने हामीलाई लाग्छ । तरुण दललाई कमजोर बनाउनु भनेको पार्टी कमजोर हुनु हो । अहिले पार्टी सभापति नै म हुन्छु भन्ने तरुण दलभित्र पनि कोही छ भने त्यो कमजोर सोंच हो

 अन्तमा केही भन्नु छ ?

–नेपाल तरुण दलको ११ वर्षपछि बल्ल अधिवेशन हुने छाँटकाँट देखिएको छ । नेपालभरबाट आएका झण्डै १४ सय प्रतिनिधि सदस्यहरुले यसमा स–सम्मान भाग लिन पाउनुपर्छ । यो अधिवेशनस्थलबाट नै भोलीको नयाँ नेपाल निर्माण गर्ने खाका कोरिने हो । यहाँबाट नेपाल निर्माण गर्ने कार्ययोजना, कार्यदिशा, युवाहरुको भविष्य लगायतका महत्वपूर्ण पक्षहरु निर्धारण गरिने हुँदा यही उर्जा बोकेर अधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्छ । अब कुनै पनि बहानामा अधिवेशन सारिनुहुन्न् । यो केन्द्रीय अधिवेशन भएकोले ७५ वटै जिल्लाका साथीहरुले यसमा भाग लिन पाउनुपर्छ । नजिकै आएको विजयादशमी तथा शुभदिपावली छठको सबैमा शुभकामना दिन चाहान्छु । धन्यवाद ।