पु.समाचार

दिल्लीमा प्रचण्डलाई भेट्ने रेशम चौधरीबारे सुरक्षा निकायको यस्तो निश्कर्ष

काठमाण्डौ । गत वर्ष भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहारका बिषयमा सुरक्षा निकायको छानविन प्रतिबेदनमा किटानी छ, उक्त दिन ज्यान मार्ने योजना बनाउने तथा ज्यान मार्ने बचन, निर्देशन दिने प्रतिबादी धनीराम चौधरी, रेशम चौधरी, लक्ष्मण चौधरी, रामचन्द्र चौधरीसमेतलाई कानुन बमोजिम हदैसम्मको कारवाही हुनुपर्ने अनुसन्धान तथा छानविन समितिको ठहरका साथ यो प्रतिबेदन पेश गरेका छौं ।’

प्रतिबेदनले दोषी किटान गरी कैलाली जिल्ला अदालतमा मुद्दा चलाइएका यीनै अभियुक्त रेशम चौधरीसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका बेला ताज प्यालेस होटलमा भेटेका थिए । भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा उपस्थित भएका चौधरीले उच्च सुरक्षा घेरा पार गर्दै प्रधानमन्त्री दाहाललाई मञ्चमा भेटेर हात मिलाउँदै कुराकानी गरेका थिए ।

प्रतिबेदनले चौधरीलगायतका व्यक्तिले साम्प्रदायिक दंगा भड्काउने खालका अभिव्यक्ति दिई सर्वसाधारणलाई उक्साई हिंसात्मक उत्तेजना फैलाउने कार्य गरेका कारण कैलालीको जनजिवन नाजुक बन्दै गई थरुहट कार्यकर्ता हिंसात्मक बन्दै गएको निश्कर्ष निकालेको छ । प्रधानमन्त्रीको नीजि सचिवालयले भने चौधरीसँग ताज प्यालेस होटलमा भएको भेटघाटलाई आकस्मिकु भन्दै प्रतिरक्षा गरेको छ । चौधरी गुप्त भेषमा एक्कासी प्रधानमन्त्रीसँग मञ्चमा देखिएका थिए । स्रोतका अनुसार उनीविरुद्ध अदालतमा दायर कर्तव्य ज्यान र हातहतियार डकैंती मुद्दा फिर्ता लिइदिन नयाँ दिल्लिमा कुराकानी भएको थियो ।

एक बर्ष अघि कैलालीमा सुरक्षाकर्मीसहित नौजनाको ज्यान जाने गरी भएको नरसंहार घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतबाट पक्राउ वारेन्ट जारी भएको छ । उनी यतिबेला प्रहरीको सर्बाधिक खोजी सूचीमा छन् । मुद्दा चलेदेखि नै फरार उनको सुरक्षा निकायबाट व्यापक खोजी भइरहेको छ ।

थारुहट, थारुवान संयुक्त संघर्ष समितिका कार्यकर्ताले भाला, तरबार, हसिया, खुकुरी, बन्चरो, दाउ, गुलेली, बोतल, ढुंगामुढालगायतका घातक घरेलु हातहतियार प्रहार गरी डिउटीमा खटिएका अञ्चल प्रहरी कार्यालय सेतीका तत्कालिन प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र डेढ बर्षको बालक टेकबाहदुर साउदको हत्या भएको प्रतिबेदनले औंल्याएको छ ।

बृहद छानविनसहितको उक्त प्रतिबेदन गत बर्षको असोज १ गते सुरक्षा निकायमा बुझाइएको थियो । उक्त घटनाका बिषयमा छानविनका लागि प्रहरी बरिष्ठ उपरीक्षक दिनेश अमात्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले ब्यापक छानविनपछि ३१ पृष्टको प्रतिबेदन सुरक्षा निकायमा बुझाएको थियो । मंगलबारको अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ ।