• Saturday, September 17th, 2016
  • शनिबार, ०७ साउन २०७४

सन्तुष्टी

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

कृष्ण आचार्य/

१५ रुपैयाँको टिकट काटेर म प्राय रत्नपार्क छिर्ने गथेँ । एक कुनामा बसेर त्यहाँ आएका जोडीहरुको चुम्बनको दृश्यले आनन्द लिनु मेरो दैनिकी थियो ।

 

गाउँबाट भर्खरै कामको खोजिमा काठमाडौँ छिरेको म लन्ठु दिनभरी काम खोज्ने र साझपख रत्नपार्कमा अरुले गरेको प्रेमद्वारा आत्मसन्तुष्टी प्राप्त गर्ने गथेँ । कहिलेकाही आफूसँग पनि सुन्दर युवती भैदिएको भए उसको ओठमा कसिलो चुम्बन गर्नेथिएँ भन्ने सोच बाहेक म मा अन्य कुनै चाहना मनभित्र गुम्सिएको थिएन ।

 

एकदिन मै बसेको स्थानमा एक अपरिचित युवती आएर मसँग अनुमति नै नलिइ बसी । निकै बेरसम्म हामीबीच कुनै औपचारिक संवाद भएन ।
म केही नबोलेपछि उतैबाट प्रश्न गरियो, ‘के हो जाने ईच्छा छैन ?’ छ भनौँ या छैन दोधारमा परेँ । उ तिर हेरेँ । उसको त्यो सुन्दर र टपक्क मिलेको शरीर, फुकेको आकर्षीत छाति, नशालु आँखा, प्यासी जस्ता देखिने ओठ देखेर लाग्यो यस्ती युवतीले जाऊ भन्दा किन नजानु । अनि भने, ‘जाने । तर कहाँ ?’
ऊ केही बोलिन । मेरो हात समाएर सरासर बाग बजारको भित्रि गल्लीको २ तले घरको एक सुनशान कोठामा लगी । बेडमा बस्न आग्रह गर्दै एक गिलास कोकाकोला ल्याएर दिर्इ । उसको आथित्यता देखेर म खुसीले गदगद भएँ ।
त्यसपछि एकैपटक रातको ११ बजे मेरा आँखा खुले । मैले आफूलाई बाग बजारको एक गल्लीमा पाएँ । केवल कोकाकोला खाएको याद थियो त्यसपछि के भएको थियो केही याद आएन । निकै भोक लागेको थियो । चारैति सुनसान थियो । केही पर पुगेपछि एउटा होटल खुलेको देखेँ । होटल भित्र पस्दै केही खानेकुरा मागाएँ ।

 

खाइसकेपछि थाहा भयो गोजीमा पैसा, मोबाइल, पर्स केही थिएन । खाएको पैसा तिर्न नसकेपछि साहूले रामधुलाई गर्यो । सुन्दर युवतीको जालमा फसेकोमा मलाई पश्चाताप लाग्यो ।

 

रत्नपार्कमा युगल जोडीको सामिप्यताले मलाई कति आनन्द दिन्थ्यो तर मेरो चाहना बढेर गयो, जसको न कुनै लक्ष्य थियो, न उद्धेश्य नै । म आफूसँग जे छ त्यसमा सन्तुष्ट हुन सकेन र कहिल्यै मेरो हुन नसक्ने चीजमा लोभिए, जसको परिणाम मैले भोग्नुपर्यो ।

 

हो, १५ रुपैयाँमा पाएको सुख १० हजार लुटिदासमेत मैले पाउन सकेन ।

(लघुकथा)

Twitter: @krishna79606

तपाईंको प्रतिकृयाहरू


Loading...