समाचार

पिउने पानी नपाएर सर्वसाधारण छट्पटाउँदै

मोरङ । मोरङको लेटाङ भोगटेनी नगरपालिका–४ स्थित जलकन्यामा शुद्ध पिउनेपानीबाट चार हजार सर्वसाधारण वञ्चित भएका छन् ।
स्थानीयवासी ललित तामाङका अनुसार गत साउन ९ गते गएको पहिरोले खानेपानीको ड्याम र पाइप बगाएपछि देउराली डाँडा, विराजे डाँडा, भालुगौडे, बेलचौरी, केरावारी–९ को भलुवा, लेटाङको कोलवोटेका स्थानीय बासिन्दा शुद्ध पिउनेपानीबाट वञ्चित भएका हुन् ।

पिउने पानीको समस्या झेल्दा सरोकारवाला निकाय मौन रहेको र स्थानीयवासी दूषित पानी पिउन बाध्य भएको स्थानीयवासी भरत राईको गुनासो छ ।

खानेपानी सञ्चित गर्न बनाएको ड्याम र विभिन्न ठाउँमा पाइप बगाउँदा खानेपानीको समस्या झन् जटिल बन्दै गएको हो । गत साउनमा भएको अविरल वर्षाको समयमा पाइप र ठाउँठाउँमा बनाएका स्पर पहिरोले बगाएको थियो । बर्सातको समयमा आउने पहिरोले खानेपानीको पाइप बगाउने र सुक्खा मौसममा डढेलो लाग्दा खानेपानीको पाइप जलाउने समस्याबाट स्थानीय बासिन्दा गुज्रिरहेका छन् ।

सो समस्या समाधानका लागि स्थानीय योगेन्द्र पौडेल, भरत राई, रामकुमार राई, शिवकुमारी राई, ललित तामाङ लगायतका व्यक्ति सम्भावित मुहान खोजीमा जुट्नु भएको छ ।

सो क्षेत्रमा ६०० घरधुरीको परिवारका झन्डै चार हजारभन्दा बढी मानिसले शुद्ध पानी पिउनबाट वञ्चित भएका स्थानीयवासी भरत राईको भनाइ छ । रासस