समाचार

बसका सहचालकले फिर्ता गरे भेटेको १० तोला सुन

पोखरा। स्याङजा सिर्सेकोट–९ निवासी केशरी अधिकारीले बसमा छोडेको १० तोला बराबरका सुनका गहनासहितको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गरेका छन् ।
भदौ २४ गते शुक्रबार माइती गल्याङबाट घर फर्कंदै गरेकी अधिकारीले गल्याङबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३४२० नम्बरको बसमा १० तोला सुनसहितको झोला छाडेकी थिइन् ।

तीजमा माइत जाँदा लगाएको सुन घर फर्किने क्रममा बाटोमा लगाउँदा असुरक्षित हुन्छ भन्ने सोचेर सुरक्षाका लागि झोलामा राखिएकोमा झोला बसमा छोडिएपछि उनकाे परिवार चिन्तामा परेको थियो ।

अधिकारी परिवारले सुनको माया मारिसके पनि बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले बस सफा गर्ने क्रममा झोला फेला पारेपछि पृथ्वी राजमार्ग बस सञ्चालक समितिको कार्यालयमा पुगेर आफूले फेला पारेको झोला बुझाएका थिए ।

झोला हराएपछि अधिकारी परिवारको पहिलो सम्पर्क एउटा बसका चालक थलबहादुर बरुवालसँग भयो । बरुवालले अधिकारी परिवारको गुनासो समितिमा सुनाउँदा सहचालक क्षेत्रीले झोला समितिमा बुझाइसकेका थिए ।

समितिका कर्मचारीले अधिकारी परिवारलाई झोला सुरक्षित रहेको जानकारी गराउँदै लिन आउन सूचना गरेपछि आएका अधिकारी परिवारलाई समितिले एक कार्यक्रमबीच सोमबार १० तोला सुनसहितको झोला हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा सहचालक क्षेत्रीलाई नगदसहित सम्मान गरियो । “म श्रम गरेर खान्छु, बेइमानी कहिल्यै पनि गर्दिन,” सामान बुझाउने क्रममा भावुक हुँदै सहचालक क्षेत्रीले भने , “फेला परेको सामान बुझाउन पाउँदा म निकै खुसी छु ।”

“बसका कर्मचारी इमान्दार हुन्छन् भन्ने प्रमाण चन्द्रले प्रमाणित गरेका,” पृथ्वी राजमार्ग बस सञ्चालक समितिका कार्यालय प्रमुख वसन्त बास्कोटाले भने , “उहाँबाट धेरैले पाठ सिक्नुपर्छ ।” हराएको सम्पत्ति पाउँदा निकै खुसी लागेको स्याङजाबाट सामान बुझ्न आएका केशरीका जेठाजु दयाराम पराजुलीले बताए ।

“हामी निकै खुसी छौँ, बसमा हराएको सामान फेला पर्दैन होला भन्ने लागेको थियो तर फेला प¥यो,” पराजुलीले भन्नुभयो, “चन्द्र भाइ साह्रै इमान्दार कर्मचारी रहेछन् ।”

सामान फेला पार्ने क्षेत्रीलाई पाँच हजार रुपैयाँ नगद र समितिसम्म सम्पर्क गराइदिने बरुवाललाई तीन हजार रुपैयाँ नगदसहित सामान बुझ्ने क्रममा सम्मान गरिएको थियो ।