भिडियो ग्यालरी

महानिर्देशक नहुँदा दैनिक काम प्रभाबित

काठमाडौँ । वन विभागमा डेढ महिनादेखि महानिर्देशक नहुँदा महत्वपूर्ण काममा समस्या हुने गरेको छ ।

विभागका महानिर्देशक गौरीशङ्कर तिमलाले गत साउन ४ गते अनिवार्य अवकाश लिएपछि डेढ महिनादेखि विभाग महानिर्देशकविहीन बनेको हो ।

विभागका प्रवक्ता चन्द्रमान डङ्गोलले महानिर्देशक नहुँदा विभागका महत्वपूर्ण निर्णय गर्न अप्ठेरो हुने गरेको बताए । उनले भने, “जिल्ला वन अधिकृतले गरेका कतिपय निर्णय सच्याउनुपर्ने हुन्छ महानिर्देशक नहुँदा समस्या परेको छ ।”

यस्तै, विभागलाई कुन रुपले अगाडि लैजाने, कुन कार्यक्रमलाई प्राथमिकता दिने भन्ने बारेमा समेत निर्णय लिन अप्ठेरो पर्ने गरेको प्रवक्ता डङ्गोलले बताए ।

हाल विभागमा गणेश झालाई निमित्त महानिर्देशक तोकिएको छ । महानिर्देशक नहुँदा दैनिक एक दर्जन सेवाग्राही बिनाकाम फर्कनु परेको छ ।

यस्तै, कर्मचारीको भदौमा हुने सरुवालाई पनि समस्या हुने गरेको विभागले जनाएको छ । रासस