पर्यटन/संस्कृति

भारतीय यी दम्पतिलाई नेपाल सरकारले लगायो १० वर्ष प्रतिबन्ध

काठमाडौं । नक्कली तस्बिर पेस गरी सगरमाथा आरोहण गरेको दाबी प्रमाणित भएपछि नेपाल सरकारले भारतीय जोडी दिनेश राथोड र ताराकेश्वरी राथोडलाई १० वर्षे प्रतिबन्ध लगाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सोमबार दिनेश र ताराकेश्वरीलाई नेपालभित्र पर्वतारोहणसंग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्ध मंगलबारदेखि नै कार्यान्वयनमा आएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव घनश्याम उपाध्यायले जानकारी दिएको छ ।
प्रतिवन्धसँगै उनीहरुले यसअघि नेपाल सरकार, पर्यटन विभागबाट पाएको आरोहणको प्रमाणपत्रसमेत रद्द भएको छ ।

महाराष्ट्र प्रहरीमा अधिकृतका रुपमा कार्यरत यो जोडीले सगरमाथा आरोहण गर्ने पहिलो भारतीय दम्पत्ति भएको दाबी गरेको थियो ।
मकालु एडभेन्चर प्रालिबाट आरोहणका लागि २ जना शेर्पा सहयोगीका साथ गएको टोलीले २३ मे अर्थात् १० जेठमा सगरमाथा शिखरको सफल आरोहणको दाबी प्रस्तुत गरेको थियो ।

राथोड जोडीको दाबी संचारमाध्यममा आएपछि भारतकै अन्य आरोहीले उनीहरुको आरोहणका सम्बन्धमा प्रश्न उठाउँदै नक्कली तस्वीर पेश भएको जिकिर गरेका थिए भन्दै बुधबारको नयाँ पत्रिकाले समाचार लेखेको छ । त्यसपछि मन्त्रालयले राथोड जोडीको तथ्य पत्ता लगाउन उपसचिव टिकाराम पाण्डेको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

समितिमा पर्यटन विभागका निर्देशक लक्ष्मण शर्मा र फोटो पत्रकार रामकृष्ण महर्जन सदस्य थिए । समितिले राथोड दम्पत्तिबाट नक्कली तस्वीर पेश भएको प्रमाणित गरेपछि उनीहरुमाथि प्रतिवन्ध लागेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।